सम्पदाको रक्षक हुँ, अब जनताको सेवक बन्छु, काठमाडौं ८ बाट चुनाव जित्छु : राजन खड्गी

गुठी, मठ–मन्दिर र पुरातात्त्विक सम्पदासम्बन्धी विद्यमान कानुनमा सुधार आवश्यक छ । सरकारी संयन्त्रमा रहेको ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न ‘जिरो टोलरेन्स’ नीति अवलम्बन गर्नुपर्ने देखिन्छ । सरकारी कर्मचारी जनताका सेवक हुन् भन्ने संस्कार स्थापित गर्नुपर्छ । त्यसका लागि काम गर्न तयार छु ।

डिसी नेपाल
१० फागुन २०८२ ८:०४
36
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका राजन खड्गीले आफूले घरदैलो अभियानका क्रममा जनताहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।

मतदाताहरू परिवर्तनको पक्षमा उभिएका कारण नयाँ पुस्तालाई भोट दिने पक्षमा रहेको उनले दाबी गरे । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा खड्गीले पार्टी अध्यक्ष कुलमान घिसिङप्रति जनताको विश्वास रहेको उल्लेख गर्दै गफभन्दा काम गर्ने नेतृत्वलाई मतदाताले रुचाएको बताए ।

घरदैलोका क्रममा हालसम्म नकारात्मक प्रतिक्रिया नआएको दाबी गर्दै उनले यसपटक क्षेत्र नम्बर ८ बाट आफू विजयी हुने दाबी समेत गरेका छन् । खड्गीले काठमाडौं–८ लाई विकासभन्दा बढी व्यवस्थापन आवश्यक रहेको क्षेत्रका रूपमा व्याख्या गरे ।

उनका अनुसार यो क्षेत्र काठमाडौंको केन्द्रीय भागमा पर्ने भएकाले पूर्वाधार विस्तारभन्दा सेवा प्रवाह, सरसफाइ, ट्राफिक व्यवस्थापन र शहरी अनुशासनमा सुधार आवश्यक छ । शिक्षित र सचेत मतदाताहरू रहेको यस क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य मुख्य चासोको विषय बनेको उनले बताए ।

युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘साधारण तर प्रभावकारी व्यवस्थापन भयो भने जनताको धेरै समस्या समाधान हुन्छ,’ उनले भने । संवादका क्रममा खड्गीले विष्णुमती खोलाको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डामध्ये एक भएको बताएका छन् । नेपाल संवतको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको विष्णुमती क्षेत्रको संरक्षण आवश्यक रहेको उनको भनाइ छ । उनले उक्त क्षेत्रलाई व्यवस्थित र सफा बनाउँदै आगामी पाँचदेखि दश वर्षभित्र हेर्न र घुम्न योग्य बनाउने लक्ष्य राखेको जानकारी दिए ।

नेवा समुदायसँग आबद्ध आफू विगत १५ वर्षदेखि संस्कृति, सभ्यता र जात्रापर्व संरक्षणमा सक्रिय रहेको उल्लेख गर्दै खड्गीले प्राकृतिक स्रोत–साधनको संरक्षणलाई प्राथमिकतामा राख्ने बताए । ‘हामी खोलालाई पूजा गर्छौं, तर संरक्षण गर्न सकेका छैनौं । अब पूजा मात्र होइन, संरक्षण र व्यवस्थापन आवश्यक छ,’ उनले जोड दिए ।
खड्गीले काठमाडौं–८ का मतदातालाई उज्यालो नेपाल पार्टीलाई समर्थन गर्न आग्रह गर्दै आफू विजयी भए जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्पदा संरक्षण, सुशासन र युवा नेतृत्व मुख्य एजेन्डा
खड्गीले आफ्नो मुख्य एजेन्डा सम्पदा संरक्षण, सुशासन र युवा नेतृत्व रहेको बताएका छन् । हामीसँगको कुराकानीमा उनले आफू विगत १५ वर्षदेखि जात्रा, पर्व, धर्म–संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणमा सक्रिय रहेको उल्लेख गरे ।

आफ्नो क्षेत्रभित्र पर्ने हनुमान ढोका दरबार स्क्वायर र स्वयम्भूनाथ महाचैत्य जस्ता दुई विश्व सम्पदा क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै उनले बसन्तपुर क्षेत्रका ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, ढुंगेधारा (हिटी) लगायतका सम्पदालाई व्यवस्थित रूपमा संरक्षण गर्दै थप सम्भावित सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गराउने लक्ष्य रहेको उनले बताए ।

उनले विशेषगरी विष्णुमती नदी क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्त्व औंल्याउँदै त्यसको सरसफाइ र संरक्षणका लागि नीतिगत पहल गर्ने बताए । त्यस्तै, स्वयम्भू क्षेत्रमा रहेका जीवजन्तुको संरक्षण, हरियाली प्रवद्र्धन र पर्यटकीय व्यवस्थापन सुधार गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्ने उनको भनाइ छ ।

खड्गीले गुठी, मठ–मन्दिर र पुरातात्त्विक सम्पदासम्बन्धी विद्यमान कानुनमा सुधार आवश्यक रहेको धारणा राख्दै सरकारी संयन्त्रमा रहेको ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न ‘जिरो टोलरेन्स’ नीति अवलम्बन गर्ने बताए । ‘सरकारी कर्मचारी जनताका सेवक हुन् भन्ने संस्कार स्थापित गर्नुपर्छ,’ उनले भने ।

युवा उम्मेदवारका रूपमा आफू क्षेत्र नम्बर ८ का २२ जना उम्मेदवारमध्ये सबैभन्दा कान्छो भएको उल्लेख गर्दै उनले नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने समय आएको दाबी गरे । २०७३–७४ पछि युवाहरू राजनीतिमा आउनुपर्ने माग बढेको सन्दर्भमा आफू त्यसको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएको उनले स्पष्ट पारे ।

पार्टी अध्यक्ष कुलमान घिसिङको कामबाट प्रभावित भएर आफु राजनीतिमा सक्रिय भएको उनले बताए । उनले घिसिङले लोडसेडिङ अन्त्य गरी देशलाई उज्यालो बनाएको उदाहरण दिँदै काम गर्ने नेतृत्वलाई अब नीतिनिर्माण तहमा लैजानुपर्ने बताए ।

उनका अनुसार प्रतिनिधिसभा सदस्यको मुख्य भूमिका नीति र कानुन निर्माण गर्नु भएकाले क्षेत्रका सरोकारवाला, बौद्धिक व्यक्तित्व र स्थानीय बासिन्दासँग परामर्श गरेर जनताको आवाज सदनमा पु¥याउने उनको योजना छ । ‘अहिलेसम्म सडकबाट आवाज उठाएँ, अब सदनबाट उठाउँछु,’ उनले भने ।

खड्गीले आफ्नो विगतको सामाजिक सक्रियता र सम्पदा संरक्षण अभियानका आधारमा मतदाताले आफूलाई विश्वास गर्ने दाबी गर्दै काठमाडौं–८ मा आफ्नो जित सुनिश्चित रहेको विश्वास व्यक्त गरे ।

खड्गीले आफूलाई काठमाडौंको ‘सम्पदा क्षेत्रको रक्षक’ का रूपमा प्रस्तुत गर्दै सम्पदा संरक्षण र सुशासनका लागि आफु हरदम तयार रहेको बताएका छन् । आफ्नो परिवार सात–आठ पुस्तादेखि यही क्षेत्रमा बसोबास गर्दै आएको उल्लेख गर्दै आफ्ना पुर्खाले विभिन्न मन्दिर, धारा तथा सांस्कृतिक सम्पदामा योगदान दिएको दाबी गरे ।

‘हाम्रो पुस्ताले जोगाएर ल्याएको सम्पदा अब आउने पुस्तालाई देखाउन र हस्तान्तरण गर्नुपर्छ,’ उनले भने । आफ्नो क्षेत्रभित्र पर्ने हनुमान ढोका दरबार स्क्वायर र स्वयम्भूनाथ महाचैत्य जस्ता विश्व सम्पदा क्षेत्रको संरक्षणलाई प्राथमिकता दिने उनको प्रतिबद्धता छ । बसन्तपुर, मठ–मन्दिर, पाटी–पौवा, ढुंगेधारा (हिटी) तथा गुम्बाहरूको संरक्षण र व्यवस्थापनका लागि नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ ।

उनले ऐतिहासिक खुल्लामञ्चमा भूमिगत पार्किङ निर्माण गर्ने प्रस्तावको विरोध गर्दै ‘खुल्लामञ्च खुल्ला गर्ने महाअभियान’मा संयोजकका रूपमा भूमिका खेलेको दाबी गरे । ‘सांस्कृतिक सहरलाई कंक्रिटको पार्किङले ढाक्न हुँदैन,’ उनले भने । यस्तै, उनले राजनीतिमा पैसाको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । चुनावमा पैसा खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले आफूले मतदातालाई पैसा नदिएको र नदिने प्रतिबद्धता जनाए । ‘पैसा खर्च गरेर जित्नेले भोलि ब्याजसहित असुल्छ,’ उनले भने ।

सरकारी संयन्त्रमा रहेको भ्रष्टाचारप्रति ‘जिरो टोलरेन्स’ नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकारी कर्मचारी जनताका सेवक हुनुपर्ने धारणा राखे । ‘गलत काममा साथ दिँदिनँ, तर सही कामका लागि राति १२ बजे पनि पुग्छु,’ उनले स्पष्ट पारे ।

खड्गीले आदिवासी जनजाति अधिकार, विश्व सम्पदा र समुदाय कदर, संस्कृति र सभ्यता संरक्षण, कृषि र सिंचाइ, उज्यालो नेपाल अभियान, जलविद्युत र लगानी, पर्यटन प्रवद्र्धन, बसाइँसराइ नियन्त्रण, खेलकुद पूर्वाधार निर्माण, वैदेशिक रोजगार निरुत्साहन, नदी सभ्यता संरक्षणलगायतका विषयहरु चुनावी मुद्दाका रुपमा अघि सारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.