जाल्सानको ११औं जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता, प्रथम हुनेलाई ल्यापटप पुरस्कार

डिसी नेपाल
११ फागुन २०८२ ९:१२

काठमाडाैं। जापानिज भाषा स्कुल संघ नेपाल (जाल्सान)ले ११औं जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। नेपालको लागि जापानिज राजदुतावासका डेपुटी चिफ अफ मिसन/काउन्सिलर शिन्तो यसुहारुको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

काठमाडौंको अल्फा हाउसमा आयोजना गरिएको प्रतियोगितामा मिसाकी जापानिज एण्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेसन सेन्टरका बिशाल तामाङ प्रथम भए भने ओसिस एजुकेसन कन्सल्टेन्सीका अमन कुमार यादव दोश्रो र ओपन भिजन एजुकेसन फाउन्डेसनका सुशान्त सापकोटा तेस्रो भए। त्यस्तै हार्डफोर्ड एजुकेसनका प्रतीक्षा गुरुङ र कोकोरोजाशी जापानीज कल्चर एण्ड रिसर्च सेन्टरका इशाक मियाले चौथो स्थान ओगटेका छन्।

प्रतियोगितामा पुरस्कार स्वरुप प्रथम हुनेलाई ल्यापटप, दोस्रो हुनेलाई मोबाइल, तेस्रोलाई ट्याब प्रदान गरिएको छ। प्रतियोगितामा विभिन्न भाषा स्कुलका १५ जना विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रममा बौल्दै प्रमुख अथिति यासुहारुले जाल्सानद्वारा  आयोजना गरिएको वतृत्वकता प्रतियोगिताबाट आफू प्रभावित भएको भन्दै यसले दुई देशबीचको समन्धलाई अझ बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले जापानको भाषा संस्कृति झल्काउने वक्तृत्वकला प्रतियोगिताले नेपालीहरुमाझ जापानीज भाषा प्रर्वधनमा ठूलो योगदान पुग्ने बताए।

त्यस्तै उक्त प्रतियोगिताको सभापति एवं जाल्सानका कार्यबाहक अध्यक्ष महेश श्रेष्ठले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गराउन भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदै स्थापना कालदेखी नै जाल्सानले जापान गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुको क्षमता तथा भाषा दक्षतामा अभिवृद्धि गर्न जापनिज भाषा वक्तृत्वकला प्रतियोगिता संचालन गर्दै आइरहेको बताए। उनले यस्ता प्रतियोगिताबाट जापान जाने विद्यार्थीलाई जापानिज भाषा, कला र संस्कृति सम्वन्धी अधिक जानकारी हासिल गर्न टेवा पुग्ने बताए। उनले सात दशकदेखिको दुई देशबीच रहेको पारस्पारिक सम्बन्धमा पनि यस्तो प्रतियोगिताले थप प्रगाढ बनाउने भएकाले आगामी वर्षहरुमा परिस्कृत रुपमा कार्यक्रम गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथीको रुपमा जाइका नेपालका प्रमुख माचुजाकी मिजुकीको उपस्थिति रहेको थियो । वक्तृत्वकला प्रतियोगितालाई जाल्सानका महासचिव अरुण पाण्डे र सचिव कोषराज गिरीले नेपाली र जापानिज भाषामा सञ्चालन गरेका थिए ।

एभरेस्ट बैंकको प्रस्तुति रहेको उक्त प्रतियोगितालाई आर्या ट्राभल्स, स्काइलाइन ट्राभल एन्ड टुर्स, जेएलसीटी, साकुरा जापानिज ल्याल्याङ्गवेज एकेडेमी, एसिया एजुकेशन ग्रुप, इवातानी विजनेस स्कुल, रिलायबल लाइफ इन्स्योरेन्स, जेसर्ट, इस्ट ब्रिज, लेक सिटी इन्टरनेशनल, नेपाल ल्याव हाउसले प्रायोजन गरेका थिए ।

त्यस्तै हस्पिटालिटी पार्टनरको रुपमा अल्फा हाउस र पेमेन्ट पार्टनरको रुपमा सिटी पेले सहयोग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.