पिताको किरिया सकेर सेतो वस्त्रमै जनताको आँगनमा

डिसी नेपाल
१२ फागुन २०८२ २२:५१
72
Shares

विराटनगर । राजनीतिलाई अक्सर शक्ति, सत्ता र दाउपेचको कथाहरूका रूपमा सुनिन्छ, तर यतिबेला मोरङ क्षेत्र नम्बर ६ को चुनावी माहोलमा एउटा अर्कै मानवीय संवेदना र कर्तव्यको मर्मस्पर्शी कथा कोरिएको छ। शरीरमा सेतो सुतीको वस्त्र, खुट्टामा चप्पल र अनुहारमा बुबा गुमाउँदाको गहिरो शोक। तर, यी सबै व्यक्तिगत पीडा एक उम्मेदवार विनोदप्रसाद ढकाल यतिबेला एउटा बलियो राजनीतिक सङ्कल्प बोकेर चुनावी मैदानमा उत्रिएका छन्।

ढकालका लागि यतिबेला राजनीति केवल मत माग्ने माध्यम मात्र होइन, यो त एउटा छोराको कर्तव्य र एउटा जनप्रतिनिधिको उत्तरदायित्वबिचको कठिन परीक्षा बनेको छ। एक सय एक वर्षीय पिता विष्णुप्रसाद ढकालको निधनपछि हिन्दू संस्कारअनुसार १३ दिनसम्म कोरामा बस्नुभएको उहाँ, संस्कार र धार्मिक विधि सकिएको भोलिपल्टै जनताको आँगनमा आइपुगेका हुन्।

त्यो माघ २९ गतेको दिन थियो, जतिबेला उहाँ सुन्दरहरैचामा घरदैलो अभियानमा व्यस्त हुनुहुन्थ्यो। मतदाताका समस्या सुन्दै र आफ्ना योजना सुनाउँदै गर्दा अचानक उनले एउटा अकल्पनीय खबर सुने, बुबाको देहावसान भयो। एउटा पुत्रका लागि पिताको अन्तिम बिदाइभन्दा ठूलो अरू कुनै जिम्मेवारी हुँदैन। निर्वाचनको मिति नजिकिँदै गर्दा उहाँलाई विश्वास गर्ने हजारौँ मतदाताको अपेक्षा पनि उहाँको काँधमा उत्तिकै भारी भएर बसेको थियो।

१३ दिनसम्म सेतो कपडामा बेरिएर कोराभित्र बस्दा ढकालको शरीर घरको एउटा कुनामा खुम्चिएको थियो, तर उहाँको मन र भावना भने निर्वाचन क्षेत्रका प्रत्येक टोल र बस्तीमा मतदाताहरूसँगै डुलिरहेको हुन्थ्यो। बाहिर चुनावी नारा घन्किरहँदा उहाँले भित्रै बसेर मतदाताका लागि एउटा भावुक पत्र लेखे। उनले भनेका थिए, “मेरो शरीर घरमै भए पनि मेरो मन तपाईँहरूसँगै छ।” उम्मेदवार नै उपस्थित हुन नसक्ने त्यो बाध्यकारी अवस्थामा पनि उनले कोराबाटै भिडियो तथा विभिन्न पत्रमार्फत मतदातासगको सम्बन्धलाई टुट्न दिनुभएन र क्षेत्रगत विकासका योजनाहरू बुनिरहे।

बुबा कोरामा रहँदा चुनावी अभियान मर्न नदिन उहाँका छोरीहरू सुरभी र सुवानीले ठूलो साहस देखाए। छोरीहरू बुबाको प्रतिनिधि बनेर गाउँ–गाउँ र घर–घर पुगे। “हाम्रा बुबा हजुरबुबाको अन्तिम संस्कारका कारण कोरामा हुनुहुन्छ, त्यसैले उहाँको खबर र आशीर्वाद लिन हामी तपाईँका छोरीहरू आएका छौँ”, भन्दै उनीहरूले मतदातासगको भेटघाटलाई निरन्तरता दिए।

मङ्गलबार विराटनगरका विभिन्न स्थानमा पुग्दा ढकालको अनुहारमा थकानभन्दा बढी दृढता देखिन्थ्यो। तेह्र दिनसम्म अलिनो खाएर कमजोर भएको शरीर लिएर उनी एकैदिन १७ भन्दा बढी स्थानका कार्यक्रममा सहभागी भए।

विराटनगर–४ को कोचाखालदेखि इक्राही र दावाबन्दीसम्मका टोलहरूमा उनी पुग्दा वातावरण अत्यन्तै शान्त र गम्भीर देखिन्थ्यो। सेतो वस्त्रमा उभिएका उम्मेदवारलाई देख्दा कतिपय ज्येष्ठ नागरिकले उनलाई अङ्कमाल गर्दै आशीर्वाद दिए। उनले भोट मागिरहँदा जनताले केवल एउटा नेतालाई मात्र देखेनन्, बरु आफ्नो संस्कार र कर्तव्यलाई एकसाथ अगाडि बढाउन सक्ने एउटा इमानदार छोरालाई पनि देखेका थिए।

ढकालले आफू चार दशकदेखि यही भूगोलको धुलोमा भिजेको र यहाँका हरेक समस्यासँग परिचित रहेको बताउँदै गर्दा उनको स्वरमा आत्मविश्वास झल्किन्थ्यो। उनले ४०–४२ वर्षदेखिको आफ्नो राजनीतिक यात्रालाई सम्झिँदै स्थानीय आवश्यकताका आधारमा अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए।

मोरङ–६ को चुनावी मैदान यसपटक निकै रोचक र चुनौतीपूर्ण छ। यहाँ नेकपा (एमाले) बाट उनी (विनोदप्रसाद ढकाल), नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रुबिना आचार्य, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्रकुमार राय, राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलालगायतका उम्मेदवारहरू प्रतिस्पर्धा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.