कैलाली-कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि
कञ्चनपुर। कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ।
केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो तथा रातो धब्बा देखिने र अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट रोग पुष्टि भएको हो।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली परिचालन गरी स्थानीय स्तरमा नमूना सङ्कलन गरेको थियो। सुरुमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौँ पठाइएको थियो।
त्यहाँ पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशी ले जानकारी दिए। उनका अनुसार हालसम्म धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएको छ।
जोशीका अनुसार रोग प्रारम्भिक चरणमै रहेको भए पनि समयमै जैविक सुरक्षाका उपाय लागू नगरे बङ्गुरपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ। सङ्क्रमण फैलिन नदिन प्रभावित फार्मका धनीलाई सचेत गराइएको र उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उनले बताए।
अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त सङ्क्रामक र घातक रोग हो। यस रोग लागेका पशुमा मृत्युदर शत्प्रतिशतसम्म पुग्न सक्ने भएकाले पशु स्वास्थ्य क्षेत्रमा यसलाई भयावह मानिन्छ। सङ्क्रमण फैलिए पूरै बथान सखाप हुने जोखिम हुने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
पशु अधिकृत रामप्रसाद भट्ट का अनुसार सङ्क्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म उच्च ज्वरो आउने, दानापानी खान छोड्ने, झोक्राउने, एकै ठाउँमा थुप्रिएर बस्ने तथा छट्पटाउने जस्ता लक्षण देखिन्छन्। विशेषगरी कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रगत जमेका रातो वा नीलो धब्बा देखिनु यस रोगको प्रमुख पहिचान हो।







डिसी नेपाल







Facebook Comment