मधेशमा निर्वाचन आचारसंहिता कागजमै सीमित, दलहरूद्वारा खुला उल्लंघन जारी
सिराहा। मधेश प्रदेशमा निर्वाचन आचारसंहिताको उल्लङ्घन रोकिएको छैन। निर्वाचन नजिकिँदै जाँदा सार्वजनिक स्थलहरू पार्टीका झण्डा, ब्यानर र पोस्टरले झिलिमिली बनाइएका छन्।
निर्वाचन आयोगले तडक-भडक, बाजा–गाजा तथा सार्वजनिक स्थानमा पार्टीका झण्डा झुन्ड्याउन नपाइने स्पष्ट निर्देशन जारी गरे पनि अधिकांश दलहरूले त्यसलाई बेवास्ता गर्दै खुला चुनौती दिइरहेका छन्।
शहरका मुख्य चोक बजार क्षेत्र सरकारी कार्यालय वरपर र सडक किनारमा दलका प्रचार सामग्री टाँसिएका देखिन्छन्। कतिपय स्थानमा सरकारी संरचना र सार्वजनिक सम्पत्तिमै पार्टीका झण्डा गाडिएको पाइएको छ। यसले आचारसंहिताको ठाडो उल्लङ्घन मात्र नभई राज्य संयन्त्रप्रतिको असम्मान पनि झल्काएको स्थानीय बासिन्दाहरूको भनाइ छ। निर्वाचन आयोगले निष्पक्ष र मर्यादित चुनावका लागि आचारसंहिता लागू गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा कमजोरी देखिएको छ।

आयोगले अनुगमन टोली खटाएको दाबी गरे पनि मैदानमा भने दलहरू मनोमानी ढंगले प्रचारप्रसारमा उत्रिएका छन्। निर्वाचन आउँदा नियम सम्झने, जितेपछि बिर्सिने प्रवृत्ति फेरि दोहोरिएको छ एक स्थानीय नागरिकले गुनासो गरे।
विशेषगरी ठूला दलहरू नै नियम मिच्न अग्रसर देखिएका छन्। शक्ति प्रदर्शनका नाममा मोटरसाइकल ¥याली भीडभाडयुक्त सभा र ध्वनि प्रदूषण हुने गरी बाजा–गाजा प्रयोग गरिँदै आएको छ। यसले सर्वसाधारणलाई असहज मात्र बनाएको छैन चुनावी वातावरणलाई पनि अस्वस्थ बनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार आचारसंहिता पालनामा दलहरू गम्भीर नहुँदा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठ्ने गरेको छ। कानुन सबैका लागि समान हुनुपर्ने भए पनि व्यवहारमा भने शक्तिशालीका लागि छुट र सामान्य नागरिकका लागि कठोरता देखिनु चिन्ताको विषय बनेको छ।स्थानीय बुद्धिजीवीहरूले आयोगलाई कडाइका साथ अनुगमन गरी उल्लङ्घन गर्ने दल र उम्मेदवारमाथि कारबाही गर्न आग्रह गरेका छन्। कानुन उल्लङ्घन गरेर प्राप्त जितले लोकतन्त्र बलियो हुँदैन, उनीहरूको भनाइ छ।
मधेशमा देखिएको यो अवस्था तत्काल नियन्त्रण नगरे चुनावी वातावरण थप तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ। अब प्रश्न उठेको छ—आचारसंहिता केवल कागजमै सीमित रहने हो कि आयोगले व्यवहारमै कडाइ देखाउने हो?















Facebook Comment