निर्वाचन सुरक्षाका लागि रौतहटमा मदिरा निषेध : प्रशासनको कडा कदम
रौतहट । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन रौतहट जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक जरुरी सूचना जारी गर्दै निर्वाचन सुरक्षा संवेदनशीलताका कारण यस्तो निर्णय गरेको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार निर्वाचनको पूर्वसन्ध्यादेखि नै शान्ति सुरक्षा कायम गर्न फागुन १८ गतेदेखि निर्वाचनको अन्तिम नतिजा नआएसम्म वा निर्वाचन नसकिएसम्मका लागि मदिरा निषेध गरिएको छ। यो निर्णय जिल्लाभरका सबै स्थानीय तह, ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा समान रूपमा लागू हुनेछ।
निर्वाचनका समयमा मदिरा सेवनका कारण हुनसक्ने झै–झगडा, सामाजिक सद्भावमा आँच आउने गतिविधि र चुनावी हिंसालाई रोक्न प्रशासनले यो नीति अपनाएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटले होटल व्यवसायी, मदिरा वितरक, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण सबैलाई यस निर्णयको पूर्ण पालना गर्न अपील गरेको छ।
प्रजिअ भुसालले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु प्रशासनको मुख्य जिम्मेवारी हो। यस कार्यमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुने छैन। मदिरा निषेधको उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ।’
निर्णयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोलीले जिल्लाका विभिन्न स्थानमा आकस्मिक अनुगमन गर्नेछ। विशेषगरी सीमावर्ती क्षेत्र र होटल–रेष्टुरेन्टहरूमा प्रशासनले कडा निगरानी राख्ने योजना बनाएको छ। स्थानीय निर्वाचन सुरक्षा योजना अन्तर्गत सार्वजनिक शान्ति र सामाजिक सद्भाव कायम राख्नु नै यस कदमको मुख्य उद्देश्य रहेको प्रशासनले प्रष्ट पारेको छ।








डिसी नेपाल







Facebook Comment