चुनावको मुखमा मुगुमा भाइरल ज्वरो, चार सय भन्दा बढी बिरामी

डिसी नेपाल
१४ फागुन २०८२ १७:१८
112
Shares

मुगु। मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोले गाउँका चारसय भन्दा बढी स्थानीय विरामी परेका छन्।

ज्वरोका कारण सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धा प्रभावित छन्। स्थानीय खेम रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको ज्वरो नर्खजी गाउँका चार बस्तीमा तीव्र रूपमा फैलिएको हो।

नर्खजिमा रहेको स्वास्थ्य संस्थामा जनशक्ति र औषधी दुवै अभावमा देखिएको छ। उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीबाट डाक्टरसहितको टोली गाउँ पुगेपनि रोग नियन्त्रणमा आउन सकेको छैन। उपचारमा खटिएको टोली १२ गते गाँउबाट फर्किसकेको छ भने अहिले एक जना स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचारमा सक्रिय छन्।

नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। ‘गाउँपालिकालाई जानकारी गराइसकेका छौं। औषधि पठाइए पनि बिरामीको चापका कारण सकिएको छ। स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्र बाँकी रहेको र आफूसहित एक जना मात्रै स्वास्थ्यकर्मी हुँदा बिरामी दर्तादेखि परीक्षणसम्म सबै काम गर्नुपरेकाले समयमै सेवा दिन कठिनाइ भएको छ,’ उनले भने।

प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका डाक्टर विकास धितालले गाउँ पुगेर करिब ३ सय बिरामीको परीक्षण गरेको जानकारी गराएका छन। ज्वरोका कारण बालबालिका देखि वृद्धवृद्धासम्म प्रभावित भएका छन्। औषधि अभाव देखिन्छ। ५० जनालाई खोप लगाइएको उनले जानकारी दिए।

आफू पनि ज्वरोबाट प्रभावित भएपछि दुई दिन अघि टोली फर्किनुपरेको बताउँदै उनले समयमै औषधि र जनशक्ति व्यवस्थापन नभए अवस्था जटिल बन्न सक्ने बताए। विशेषगरी दीर्घरोगी बिरामीका लागि जोखिम बढ्न सक्ने उनको भनाइ छ उपचारका लागि गएका स्वास्थ्यकर्मीका अनुसार ज्वरो नर्खजी गाउँमै सीमित नरही छिमेकी बस्तीमा समेत फैलिने जोखिम रहेको छ।

उता गाउँमा ज्वरोको प्रकोप बढिरहँदा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू भोट माग्न शिक्षा र स्वास्थ्यका नारा लिएर गाउँमा पुगिरहेका भए पनि अहिले गाँउमा औषधि र जनशक्ति अभाव समाधानका लागि ठोस पहल नभएको भन्दै स्थानीयले गुनासो गरेका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि।अहेव बिर्ख रावलका अनुसार पहिलो चरणमा उपलब्ध औषधि पठाइसकिएको छ। बिरामी संख्या बढेकाले औषधि अभाव भएको हो।

दोस्रो चरणका लागि खरिद गरिएको औषधि नेपालगञ्जबाट गाउँपालिकाको एम्बुलेन्स मार्फत ल्याउने तयारी भइरहेको समेत बताएका छन।
जिल्ला अस्पताललाई पनि आवश्यक औषधि र जनशक्ति व्यवस्थापनका मौखिक रुपमा आग्रह गरिएको भएपनी सकारात्मक जवाफ नआएको सिअहेव रावलले बताए।

यसबारे जिल्ला अस्पताल मुगुका प्रमुख डा।निर्मल नगरकोटीले गाउँपालिकाबाट औपचारिक माग आएपछि उपलब्ध औषधि पठाउन सकिने बताएका छन्। साथै भाइरल ज्वरो फैलिएको क्षेत्र नजिकै रातापानी प्राथमिक स्वास्थ्य केन्द्र रहेकाले त्यहाँबाटै टोली परिचालन गरिएको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.