कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ : सभापति थापा

डिसी नेपाल
१५ फागुन २०८२ १७:१०
12
Shares

पोखरा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीसँग सिक्ने र सिकाउने समय छैन, सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ।’

सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको जानकारी दिए। ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरुलाई दिने भनियो भने देश फेरि पछाडि धकेलिन्छ, सिकेर तम्तयार भएको टिमलाई देश हाँक्ने जिम्मा दिनुपर्छ, त्यस्तो टिम नेपाली कांग्रेससँग मात्रै छ’, उनले भने।

उनले थपे, ‘देश एक्लैले बनाउन सकिने र एक्लैले चलाउन सकिने चिज होइन, सबैलाई समेटेर बनाउनु पर्छ, त्यो काम पनि कांग्रेस बाहेक अरुले गर्न सक्दैनन्, त्यसैले कांग्रेसलाई बहुमत दिनुहुन अनुरोध छ।’

सभापति थापाले कांग्रेस बाहेक अरुले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे।

उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको र कांग्रेसलाई मत हाल्नु पर्ने कारण धेरै रहेको बताए।

अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने उनले अठोट व्यक्त गरे।

सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरे। आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने उनको अठोट छ।

सभापति थापाले कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानूनी तथा संस्थागत व्यवस्था गर्ने जानकारी दिए। उनले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी नगर्ने स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.