भ्याली भ्युको अभिभावक दिवसमा आनीले भनिन्- बाबुनानीलाई सही कर्म सिकाउँदा सुन्दर भविष्य निर्माण गर्न सकिन्छ
काठमाडौं। चर्चित गायिका आनी छोइङ डोल्माले भ्याली भ्यु स्कुलको अभिभावक दिवसलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई सही कर्म सिकाउँदा सुन्दर भविष्य निर्माण गर्न सकिने बताएकी छन्।
मङ्गलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आनीले बाबुनानीलाई भौतिक सुखसुविधाले सम्पन्न पार्नु मात्र अभिभावकको दायित्व नभई सही कर्म पनि सिकाउनुपर्ने धारणा राखेकी हुन्।
‘आमाबुबाले आफ्ना नानीबाबुको सुन्दर भविष्यको कल्पना गर्दै कडा मिहिनेत गरिरहनुभएको हुन्छ। सबै अभिभावक पैसा कमाएर राम्रा स्कुलमा भर्ना गराई आधारभूत आवश्यकता-पूर्ति गराइ दिनमा तल्लीन हुनुहुन्छ। आफूले सानोमा नपाएको चिज बाबुनानीको जीवनमा खन्याउन अभिभावकहरूले कुनै कसर बाँकी राख्नुहुन्न। तर, त्यत्तिले मात्र पुग्दैन। आफ्नो बच्चाको सुन्दर भविष्यका लागि सही कर्म सिकाउनुपर्छ,’ उनले भनिन्।
भौतिक सम्पन्नता, रुपैयाँ पैसा, गाडी, ठूला घर, बैंक व्यालेन्स जति भए पनि आफ्ना सन्तानलाई सही कर्म दिन नसके त्यही सम्पत्ति अभिशापको रूपमा परिणत हुने जोखिमसमेत रहने उनको भनाइ छ।

‘संसारमा त्यस्ता कुनै प्राणी छैनन्, जसले सुख चाहँदैनन्। संसारमा त्यस्ता कुनै प्राणी छैनन्, जसले दु:ख खोजेको होस्। सबैले सुख र सम्मान खोजिरहेका छन्। मानिस आफ्ना लागि सुख र सम्मान खोजे पनि अरुका लागि त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने बिर्सिदिन्छ। त्यस्तो हुँदा हामी गलत कर्ममा लाग्न बाध्य हुन्छौं। गलत कर्मले बाबुनानीको जीवनमा असर गर्छ। उनीहरूले पनि त्यस्तै कर्म सिक्छन्। त्यसैले सत्कर्म सिकाऔँ,’ उनले भनिन्।
व्यक्तिले गर्ने कर्मबाट मात्र सही संस्कार दिन सकिने उनको धारणा छ। उनले आफूले पनि पढ्न नपाएको तर आजको अवस्थासम्म पुग्नुमा असल कर्मको प्रतिफल भएको बताएकी छन्।
आनी छोइङले भ्याली भ्यु स्कुलले लामो समयदेखि संस्कार र असल कर्म सहितको उत्कृष्ट शिक्षा प्रदान गरिरहेको भन्दै खुसी व्यक्त गरिन्।
अभिभावक प्रतिनिधि द्वय नवीन लुइँटेल र प्रकृति उप्रेतीले युग सुहाउँदो र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा प्रदानमा भ्याली भ्यु स्कुले ठूलो लगानी तथा मिहिनेत गरिरहेको हुँदा अभिभावकका अपेक्षा पूरा गर्न भ्याली भ्यु स्कुल सदैव सकारात्मक एवम् सक्षम भएको कुरामा आफूहरू विश्वस्त रहेको बताउँदै शुभकामना मन्तव्य प्रस्तुत गरे।

विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले विद्यालयको नीति एवम् दर्शनका बारेमा आफ्ना धारणा व्यक्त गर्दै विद्यार्थीको मनोभावलाई बुझेर उनीहरूको प्रतिभा बिस्तारलाई केन्द्रमा राख्दै अभिभावकको चाहना अनुरूप नै भ्याली भ्यु स्कुलले विश्व बजारसँग प्रतिस्पर्धा गर्ने मौलिक धारको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए।
अभिभावक दिवस-२०८२का अवसरमा आयोजित औपचारिक कार्यक्रमका बीच भ्याली भ्यु स्कुलका तर्फबाट मानव सेवा आश्रमको सहयोगार्थ एक लाख पचास हजारको चेक आश्रमका उपत्यका संयोजक कृष्ण पौडेललाई हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा २०८१ को एसईईमा भ्याली भ्यु स्कुलबाट उत्कृष्ट ४ जीपीए ल्याउन सफल १० जना विद्यार्थी एवम् कक्षागत रूपमा उत्कृष्ट नतिजा प्राप्त गर्ने १ देखि १० कक्षामा अध्ययनरत मेधावी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा वरिष्ठ कलाकार दीपाश्री निरौला र विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको उपस्थिति समेत रहेको थियो।
अभिभावक दिवसमा विद्यार्थीहरूले नृत्य, सङ्गीत, नाटक, प्रहसन खेल-कौशलका अनेक प्रस्तुति प्रदर्शन गरेका थिए। भ्याली भ्यु स्कुल देशकै ख्यातिप्राप्त निजी विद्यालय हो, हरेक वर्ष यसरी नै अभिभावक दिवस मनाउँदै आएको छ।







डिसी नेपाल







Facebook Comment