मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध

डिसी नेपाल
१५ फागुन २०८२ २१:५२

कर्णाली। जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरिएको सूचना सार्वजनिक गरेको छ।

निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्रीवितरणमा निषेध गरिएको हो। यही फागुन २१ गते हुन गइरहेको प्रतिनधिसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने ध्येयले बिक्रीवितरणमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिए।

‘मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न जाने असरलाई मध्यनजर गरी सुर्खेत जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यसको बिक्रीवितरणका साथै सेवनमा निषेध गरेका छौँ’, उनले भने, ‘यदि सूचनाको अवज्ञा गरी कुनै पनि गतिविधि भए वा गरेको पाइएमा कानुनबमोजिम कारबाही हुनेबारे सबैमा जानकारी गराइएको छ।’

प्रतिनिधिसभा सदस्यको निर्वाचन, २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सञ्चालन अनुमति लिएका मानवरहित हवाई उपकरण (ड्रोन) यही फागुन १८ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्म लागि उडान नगर्न कार्यालयले सूचना गरेको छ। त्यस्तै प्रशासनले यही फागुन १८ गतेको होली पर्व सामाजिक सद्भाव र भाइचार सम्बन्ध कायम राख्दै मनाउन अनुरोध गरेको छ।

त्यसैगरी, कुनै दल, सङ्गठन वा उम्मेदवारको चिह्न वा झण्डाअङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट, झोला नबोक्न पनि प्रशासनले आग्रह गरेको छ। निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न तथा कुनै पनि अवाञ्छित घटना हुन नदिन सबैमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.