कांग्रेसले काठमाडौं उपत्यकामा भोलि ६ वटा चुनावी सभा गर्ने
काठमाडौं। नेपाली कांग्रेसले भोलि काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ। चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्। काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।
दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ। भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कबिर राणालाई चुनावी मैदानमा उतारेको छ।
युवा नेता कबिर शर्मालाई उम्मेदवार बनाएको काठमाडौं निर्वाचन क्षेत्र नं २ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन्।
युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नं ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने तालिका रहेको छ।
दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ। काठमाडौं ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौं ६ मा जिल्ला सभापति सबुज बानिया उम्मेदवार छन्। संयुक्त सभालाई पार्टी सभापति गगनकुमार थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन्।
यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने तालिका रहेको छ। काठमाडौं ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ।







डिसी नेपाल







Facebook Comment