प्रतिनिधिसभा निर्वाचन

दाङ-२ मा चार दलबीच कडा प्रतिस्पर्धा, शंकर पोखरेललाई कडा चुनौती

डिसी नेपाल
१७ फागुन २०८२ १२:४८
100
Shares

दाङ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नम्बर २ मा चार प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

यस क्षेत्रमा शंकर पोखरेल (नेकपा एमाले), किरणकिशोर घिमिरे (नेपाली कांग्रेस), विपिनकुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) र निर्मल आचार्य (नेपाली कम्युनिस्ट पार्टी) बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ठूला दलका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएकाले दाङ-२ को चुनावी माहोल रोचक बनेको छ।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रेखा शर्मा ले गठबन्धनको समर्थनमा २६ हजार ८८० मत ल्याउँदै १९३ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्, जबकि पोखरेलले २६ हजार ६८७ मत प्राप्त गरेका थिए।

त्यतिबेला रास्वपाका बिशाल अधिकारी ले १५ हजार ८६१ मत ल्याएका थिए। समानुपातिकतर्फ भने एमाले २३ हजार ५६८ मतसहित पहिलो दल बनेको थियो, जसले अहिलेको प्रतिस्पर्धामा एमालेको आधार बलियो रहेको संकेत गर्छ।

यसपटक कुनै औपचारिक गठबन्धन नभएको, साथै स्थानीय तहमा कार्यकर्ता विस्तार र युवाको प्रवेश बढेको भन्दै एमाले पक्षले पोखरेलको पक्षमा माहोल बन्न थालेको एमाले कार्यकर्ताहरुको दाबी छ ।

घरदैलो अभियानका क्रममा उनले मोटरबाटो, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै मतदाता आकर्षित गर्ने प्रयास गरेका छन्। विगतका अधुरा विकास आयोजना पूरा गर्न सक्ने उम्मेदवारको रूपमा उनलाई प्रस्तुत गरिँदा दाङ–२ को चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.