डडेलधुरा विकासको ‘ब्लुप्रिन्ट’सहित घरदैलोमा नैनसिंह : यस्तो छ ५ वर्षे खाका

डिसी नेपाल
१७ फागुन २०८२ १६:३१
224
Shares
डडेलधुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ‘गर्विलो इतिहास, भरपर्दो भविष्य’ को संकल्पसहित आफ्नो विस्तृत प्रतिबद्धता पत्र सहित मतदाता भेटघाटलाई तिब्र बनाएका छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको विरासत बोकेको यस क्षेत्रमा महरले डडेलधुरालाई सुदूरपश्चिमको शैक्षिक, पर्यटकीय र व्यापारिक केन्द्र बनाउने ५ वर्षे स्पष्ट खाका प्रस्तुत गरेका हुन्। ३५ वर्षको निष्कलंक सार्वजनिक जीवन बिताएका महरले बाँकी जीवन पनि पूर्ण रूपमा पारदर्शी, जवाफदेही र सदाचारी हुने प्रण गर्दै डडेलधुराबासीको स्वाभिमानलाई कहिल्यै झुक्न नदिने अठोट व्यक्त गरेका छन्।
महरको विकास योजनाको मुख्य आधार भौतिक पूर्वाधार र सडक सञ्जालको विस्तार रहेको छ। उनले अत्तरिया–डडेलधुरा जोड्ने भीमदत्त राजमार्गलाई स्तरीय डबल लेन र चार लेनको फराकिलो राजमार्ग बनाउने एजेन्डा अघि सारेका छन्।
डडेलधुरालाई प्रदेशकै ‘रणनीतिक ट्रान्जिट’ बनाउने सपनासहित उनले महाकाली नदीमा पक्की पुल निर्माण गरी भारतको टनकपुरसँग अन्तरदेशीय व्यापार सहज बनाउने र डडेलधुरा विमानस्थल निर्माणको प्रक्रियालाई मूर्त रूप दिने प्रतिबद्धता जनाएका छन्। साथै, महाकाली करिडोर, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै जिल्लाका हरेक वडा र पालिका केन्द्रसम्मका सडकलाई कालोपत्रे गर्ने उनको योजना छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा डडेलधुरालाई अन्तर्राष्ट्रिय स्तरको ‘हब’ बनाउन महरले विशेष जोड दिएका छन्। उनले डडेलधुरा मेडिकल कलेजलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने र डडेलधुरा अस्पतालमा २५ शैयाको ट्रमा सेन्टर निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छन्। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाका सातवटै स्थानीय तहमा आवासीय नमुना विद्यालयहरू स्थापना गर्ने र सदरमुकाम अमरगढीलाई ‘स्मार्ट हिल स्टेशन’ का रूपमा विकास गर्ने उनको योजना रहेको छ।
युवा पलायन रोक्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महरले कृषि र पर्यटनलाई मुख्य आधार बनाएका छन्। उग्रतारा, परशुरामधाम, अमरगढी किल्ला र ऐतिहासिक अजयमेरुकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने तथा साहसिक र पर्या(पर्यटन प्रवद्र्धन गर्ने उनको लक्ष्य छ। कृषि क्षेत्रमा डडेलधुरालाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै सुन्तला, कागती र तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन र ब्रान्डिङ गर्ने योजना उनले अघि सारेका छन्। यस्तै, डडेलधुरामा राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्ने र एक घर एक धाराु अभियानमार्फत हरेक नागरिकलाई स्वच्छ खानेपानी पु¥याउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
राजनीतिमा देखिएको अपारदर्शिता र सुशासनको अभावले युवा पुस्तामा सिर्जना गरेको असन्तुष्टि (जेनजी विद्रोह) लाई सम्बोधन गर्दै महरले नीतिगत सुधारको बाचा गरेका छन्। एक विधायकका रूपमा विधायिकी अधिकार प्रयोग गरी मुलुकमा सुशासन कायम गर्न आवश्यक कानुन निर्माण र कार्यान्वयनलाई उनले पहिलो प्राथमिकतामा राखेका छन्। विगतको गौरवपूर्ण इतिहासलाई जोगाउँदै र नयाँ पुस्ताको सिर्जनात्मक ऊर्जालाई समेट्दै डडेलधुरालाई अवसरहरूको केन्द्र बनाउन आफू प्रतिबद्ध रहेको महरले उल्लेख गरेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.