तनहुँ १ मा स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा कांग्रेसमा प्रवेश

डिसी नेपाल
१८ फागुन २०८२ ११:५५
2.4k
Shares

दमौली। तनहुँ क्षेत्र नम्बर १ को चुनावी सरगर्मी बढिरहेका बेला स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्ने घोषणा गरेका छन्।

आइतबार साँझ आयोजित एक विशेष कार्यक्रमका बीच लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कुनै पनि किसिमको अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता रहेको महसुस गर्दै आफू कांग्रेसमा प्रवेश गरेको लौडारीले स्पष्ट पारेका छन्।

उनले भट्टराईको जीत सुनिश्चित गर्न आफ्नो समूहको करिब एक हजार छ सय मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरे। नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार गोविन्द भट्टराईले आफू नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदाको समय स्मरण गर्दै आफू सधैँ युवा पुस्ता (जेन–जी) को भावना बुझ्ने र उनीहरूकै प्रतिनिधित्व गर्ने नेता भएको बताए।

उनले वर्तमान सभापति गगनकुमार थापा युवा हुँदा नै आफूले नेविसंघको टिकट दिएर राजनीतिमा अगाडि बढाएको प्रसङ्ग उल्लेख गर्दै युवाहरूलाई नेतृत्वमा ल्याउन आफ्नो सधैँ महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

आफू युवा अवस्थादेखि नै भ्रष्टाचार विरोधी अभियानमा सक्रिय रहेको चर्चा गर्दै भट्टराईले अहिलेको नयाँ पुस्ताको मुख्य माग सुशासन, भ्रष्टाचारको अन्त्य र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु रहेको र त्यसलाई नै आफूले प्रमुख प्राथमिकतामा राखेको प्रतिबद्धता व्यक्त गरे।

भट्टराईले भने, ‘हिजोदेखि नै जेनजी युवाको मागलाई उठाउँदै सङ्घर्षको मैदानमा लड्दै आएको छु, तपाईंहरुको विश्वासलाई गुम्न तनहुँको विकासको लागि युवासँगै हातेमालो गरी अघि बढ्ने छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.