खामेनीको हत्यापछि पाकिस्तानमा हिंसा, २० को मृत्यु १०० भन्दा धेरै घाइते
काठमाडौं । आइतबार पाकिस्तानभरि विरोध प्रदर्शन चर्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा धेरै घाइते भएका छन्। संयुक्त राज्य अमेरिका र इजरायलले तेहरानमा समन्वित हवाई आक्रमणमार्फत इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको पुष्टि गरेपछि देशभरि अशान्ति फैलिएको हो।
अल जजीराका अनुसार कराचीमा १०, स्कर्दुमा कम्तीमा ८ र राजधानी इस्लामाबादमा २ जनाको मृत्यु भएको छ। प्रदर्शनहरू मुख्यत: शिया समुदायले नेतृत्व गरेका थिए, जसलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले अश्रुग्यास र रबरको गोली प्रयोग गरेका थिए।
पाकिस्तानमा करिब २५ करोड जनसंख्या छ, जसमा शिया मुस्लिमहरू २० प्रतिशतभन्दा बढी छन्। राजधानी इस्लामाबादको ‘रेड जोन’ क्षेत्रमा हजारौँ मानिस भेला भई “अमेरिकाको पक्ष लिनेहरू देशद्रोही हुन्” र “इजरायलविरुद्ध बदला” भन्ने नाराबाजी गरेका थिए।
५ देखि ८ हजारसम्म मानिस, महिलासहित, खामेनीको तस्वीरसहितका प्लेकार्ड बोकी राजधानीको ठूला होटल नजिकै भेला भएका थिए। प्रदर्शनकारी सैयद नयाब जेहरा (२८) ले अल जजिरासँग भनिन्, “हाम्रो सरकार तपाईंहरूसँग नभए पनि हामी इरानीहरूसँग ऐक्यबद्धता देखाउन यहाँ आएका हौँ।”
पाकिस्तान सरकारले इरानमाथि भएको संयुक्त अमेरिकी-इजरायली आक्रमणको निन्दा गरेको छ। तर इरानले त्यसपछि खाडी मुलुकहरूमा गरेको आक्रमणको पनि आलोचना गरेको छ।
कराचीमा सबैभन्दा रक्तपातपूर्ण दृश्य देखियो। सयौँ मानिस अमेरिकी दूतावास र वाणिज्य दूतावास अगाडि भेला भए। केही युवाहरूले दूतावासको गेट चढी भवनमा प्रवेश गरी सिसा फुटाए। भिडलाई अन्ततः अश्रुग्यास र गोली चलाएर तितरबितर गरिएको थियो। कम्तीमा १० जनाको मृत्यु र ६० घाइते भएको कराचीका प्रहरी सर्जन सुमैया सैयदले पुष्टि गरे।
सिन्ध प्रदेशका मुख्यमन्त्री मुराद अली शाहले घटनालाई “अत्यन्तै दुःखद” भन्दै निष्पक्ष छानबिनको आदेश दिएका छन्। उनले भने, “देश युद्धजस्तो परिस्थितिमा हुँदा शान्ति र सुरक्षालाई बिगार्नु अनुचित हो।”
अमेरिकी दूतावासले कराची, लाहोर र इस्लामाबादमा भइरहेको प्रदर्शनबारे निगरानी गरिरहेको र अमेरिकी नागरिकलाई ठूलो भिडबाट टाढा रहन आग्रह गरेको छ।
यसअघि पनि १९७९ नोभेम्बरमा इस्लामाबादस्थित अमेरिकी दूतावासमा भीडले आक्रमण गरी आगजनी गर्दा दुई अमेरिकी र दुई पाकिस्तानी कर्मचारीको मृत्यु भएको थियो।







डिसी नेपाल







Facebook Comment