बैतडीमा दुई हजार ७० अस्थायी मतदाता कायम

डिसी नेपाल
१८ फागुन २०८२ २०:०६
36
Shares

दशरथचन्द (बैतडी)। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार बढी अस्थायी मतदाता कायम भएका छन्।

यही फागुन २१ गते हुने निर्वाचनका लागि दुई हजार ७० अस्थायी मतदाता कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो। उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउनेछन्। अस्थायी मतदाताका लागि दशरथचन्द नगरपालिका–४ स्थित दशरथ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको उनले बताए।

निर्वाचनमा खटिएका कर्मचारीको हकमा सम्बन्धित केन्द्रबाटै मतदान गर्नेछन्। निर्वाचनका लागि कूल एक हजार २८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अस्थायी मतदातामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन सुरक्षामा खटिने प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, वृद्धा श्रममा रहेका व्यक्ति तथा कारागारमा रहेका थुनुवा र कैदीबन्दी समावेश गरिने व्यवस्था रहेको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र छन्। जिल्लामा कूल एक लाख ५६ हजार ३७२ जना मतदाता छन्। जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.