युएइमा प्रहार गरिएका मिसाइल र ड्रोनको संख्या ८०० माथि पुग्यो

डिसी नेपाल
१९ फागुन २०८२ १०:४०
184
Shares

काठमाडौं । संयुक्त अरब इमिराट्स (यूएई) रक्षा मन्त्रालयले सोमबार देशको वायु रक्षा प्रणालीले इरानबाट प्रक्षेपण गरिएका नौवटा ब्यालिस्टिक मिसाइल, छवटा क्रुज मिसाइल र १४८ वटा ड्रोन सफलतापूर्वक नष्ट गरेको जनाएको छ।

मन्त्रालयले विस्तृत विवरणमा भनेको छ – आक्रमण सुरु भएदेखि हालसम्म कुल १७४ वटा ब्यालिस्टिक मिसाइल पत्ता लागेका छन्। तीमध्ये १६१ वटा अवरोध गरी नष्ट गरिएको र १३ वटा समुद्रमा खसेको बताइएको छ। यसैगरी, ६८९ वटा इरानी ड्रोनमध्ये ६४५ अवरोध गरिएको र ४४ वटा यूएई भित्र खसेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार आठवटा क्रुज मिसाइल पनि पत्ता लागी नष्ट गरिएको छ, जसले केही सीमित क्षति पुर्‍याएको छ। आक्रमणका कारण तीन जनाको मृत्यु भएको र ६८ जनालाई सामान्य चोटपटक लागेको पुष्टि गरिएको छ।

देशका विभिन्न भागमा सुनिएका आवाजहरू वायु रक्षा प्रणालीले ब्यालिस्टिक मिसाइल अवरोध गर्दा र लडाकु विमानहरूले ड्रोन तथा क्रुज मिसाइललाई लक्ष्य गर्दा उत्पन्न भएको बताइएको छ। यी कारबाहीका कारण केही नागरिक स्थलहरूमा सामान्यदेखि मध्यम स्तरको क्षति भएको छ।

मन्त्रालयले आक्रमणलाई “स्पष्ट आक्रामकता” र “राष्ट्रिय सार्वभौमिकता तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन” भन्दै कडा शब्दमा निन्दा गरेको छ। यूएईले यसलाई प्रतिकार गर्ने अधिकार सुरक्षित राखेको र आफ्नो भूभाग, नागरिक तथा बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने चेतावनी दिएको छ।

मन्त्रालयले अझै उच्च सतर्कतामा रहेको र सम्भावित खतरा सामना गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ। नागरिक, बासिन्दा तथा आगन्तुकहरूको सुरक्षा नै शीर्ष प्राथमिकता रहेको भन्दै जनतालाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह वा अप्रमाणित समाचार फैलाउनबाट बच्न आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.