गृहमन्त्रीसहित उच्च अधिकारीको टोली ललितपुरका विभिन्न मतदान स्थलको अनुगमनमा
काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्च अधिकारीको टोली ललितपुरको विभिन्न दुर्गम क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षणमा निस्किएको छ।
उनीसँग गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्च अधिकारी सहभागी छन्।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज ललितपुरका बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो।
निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम रहेको छ।
यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीलिले बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।
त्यस अवसरमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आव्हान गरेका थिए।
त्यसअघि फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्च अधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो।
सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुद र प्रभावकारी बनाएको छ।







डिसी नेपाल







Facebook Comment