रौतहटमा निर्वाचनको सम्पूर्ण तयारी पूरा : १० हजार सुरक्षाकर्मी परिचालन, सेनाको बम डिस्पोजल टोली तैनाथ

डिसी नेपाल
१९ फागुन २०८२ १८:३९
8
Shares

रौतहट। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहट जिल्लाभर सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रौतहटका चारवटै निर्वाचन क्षेत्रका १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएको छ। जिल्लाभर कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेका छन्। सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारीहरू पुगिसकेको प्रशासनले पुष्टि गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा म्यादी प्रहरीसहित करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोलीसमेत खटाइएको छ।

समानुपातिक तर्फको मत खसाल्न जिल्लाका तीन स्थानमा विशेष मतमेटिकाको व्यवस्था मिलाइएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार गौरस्थित जिल्ला अदालतको चौरमा कर्मचारी र सुरक्षाकर्मीका लागि, इलाका प्रहरी कार्यालय गौरको ब्यारेक मैदानमा सुरक्षाकर्मीका लागि र गौर कारागारमा कैदीबन्दीहरूका लागि मतदानको व्यवस्था गरिएको छ।

निर्वाचनका लागि सुरक्षाको कडा प्रबन्ध मिलाइएको छ। मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। संयुक्त सुरक्षा टोलीले जिल्लाभर गस्ती र पेट्रोलिङलाई समेत तीव्र पारेको प्रजिअ भुसालले बताए।

प्रमुख जिल्ला अधिकारी भुसालले कुनै पनि भय वा त्रास नमानी निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई आग्रह गरेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.