हेटौंडामा निर्वाचनको तयारी पूरा, ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
मकवानपुर। बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लाभरका सबै मतदान केन्द्रहरूमा आवश्यक व्यवस्थापन सकिएको छ।
हाल मतदान केन्द्रहरूमा बुथ व्यवस्थापन, डोरी टाँग्ने, मतदाताको प्रवेश–निर्गमन मार्ग छुट्याउने तथा मतदान कक्ष व्यवस्थित गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा मतगणना स्थल पनि तयार भइसकेका छन्। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय भवनमा मतगणनाका लागि चार वटा कोठा तयारी अवस्थामा रहेको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
जिल्लामा १६७ मतदान स्थल कायम गरिएको छ। तीमध्ये १९ अति संवेदनशील, ६० संवेदनशील र ८८ सामान्य श्रेणीमा वर्गीकृत छन्। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विशेष सुरक्षा योजना लागू गरिएको प्रशासनले जनाएको छ।
मकवानपुरमा दुई अस्थायीसहित कुल ३७६ मतदान केन्द्र स्थापना गरिएका छन्। मतदान कार्य सञ्चालनका लागि ३ हजार ३६६ कर्मचारी खटाइएको छ। ५ सयसम्म मतदाता भएका केन्द्रमा ८ जना, ५ सयभन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना र अस्थायी मतदान केन्द्रमा ५ जना कर्मचारी परिचालन गरिएको छ।
जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका छन्। प्रतिनिधि सभा निर्वाचन क्षेत्र मकवानपुर–१ मा ६२ मतदान स्थल र १७८ मतदान केन्द्रमार्फत १ लाख ५८ हजार ४३४ मतदाताले मतदान गर्नेछन्।
त्यस्तै मकवानपुर–२ मा १०५ मतदान स्थल र १९६ मतदान केन्द्रमार्फत १ लाख ५६ हजार ८९९ मतदाता सहभागी हुनेछन्। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबिच समन्वयात्मक सुरक्षा योजना लागू गरिएको जनाइएको छ।







डिसी नेपाल







Facebook Comment