सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा, टेलिफोन नभएको स्थानमा भी–सेटको व्यवस्था

डिसी नेपाल
२० फागुन २०८२ १७:१७
8
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कनर्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका २ हजार १ सय ९९ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्।

सबै निर्वाचन केन्द्रका मतदान अधिकृतसँग समन्वय जारी रहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए।

सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र दार्चुलाका केही मतदान स्थलमा ईन्टरनेट र फोन सेवा उपलब्ध नरहेको अवस्थामा सुरक्षा निकायको सञ्चार सेटबाट सम्पर्क गर्ने व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एसएसपी पदम विष्टले पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए। सबै क्षेत्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षा निकाय पुगिसकेको अवस्थामा अब बिहीबार बिहान सहजै मतदान हुने उनले बताए।

सुदूरपश्चिमका धेरै स्थानमा प्रहरी सञ्चारको पहूँच रहेपनि केही स्थानमा भने सञ्चार सेटको समेत उपलब्धता नरहेको उनले बताए।

सञ्चार सेटले काम नगर्ने केही स्थानमा मोबाइलबाट सम्पर्क गर्ने व्यवस्था गरिएको एसएसपी विष्टले बताए। बाजुराका दुई स्थानमा भने टेलिफोन सेवा समेत उपलब्ध नभएकाले भी–सेटको व्यवस्था गरिएको उनले बताए।

विगतका निर्वाचनमा प्रदेशका केही स्थानमा धाँधली र अशान्ति भएको स्मरण गर्दै विष्टले यस स्थानमा यसपटक विशेष सुरक्षाको व्यवस्था गरिएको बताए। उनले निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था गरिएकाले ढुक्कसँग मतदानमा सहभागी हुन अपिल गरेका छन्।

सुदूरपश्चिमका नौं जिल्लामा १५ वटा निर्वाचन क्षेत्र रहेका छन्। कैलालीमा–५, कञ्चनपुरमा–३, अछाममा २ निर्वाचन क्षेत्र रहेका छन्।

त्यसबाहेक डडेल्धुरा, बैतड, दार्चुला, डोटी, बाजुरा र बझाङमा १÷१ वटा निर्वाचन क्षेत्र रहेका छन्। सुदूरपश्चिममा कुल मतदाताको संख्या १७ लाख, १६ हजार ६ सय ६० रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.