यस वर्ष नयाँसँगै एक पटक प्रयोग भएका नोट बाँडिने, सीमित परिमाणमा मात्र पाइने

डिसी नेपाल
३ असोज २०७६ १४:०१

काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैंमा नयाँसँगै एक पटक प्रयोग भइसकेका सुकिला नोट सटही गर्ने भएको छ। राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नोट सटही गर्ने छ। मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकास्थित कार्यालयबाट नोट सटही गरिने छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक/एक पाकेट गरी प्रति व्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सटही सुविधा उपलब्ध गराउने छ। यसभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने छ। बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका सबै शाखा कार्यालयहरुबाट समेत सुकिलो तथा सिमित मात्रामा नयाँ नोटहरु सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। काठमाण्डौं उपत्यकाको हकमा नयाँ नोट साट्न राष्ट्र बैंक आउनु नपर्ने गरी व्यवस्था मिलाइएका छन्।

नेपाल बैंकका न्यूरोड, कीर्तिपुर, महाराजगंज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा पाइने छ। राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबारप्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा र कृषि विकास बैंकका गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट पैसा पाइने छ।

यसका अतिरिक्त अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट आफ्ना ग्राहकलाई सुकिलो तथा सिमित मात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध हुनेछ। आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट सुकिलो नोट सटही गर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *