इरानद्वारा चीनलाई कच्चा तेलमा ठूलो छुट, निर्यातमा ऐतिहासिक वृद्धि
काठमाडौं । अमेरिका र इरानबीच भर्खरै सम्पन्न भएको ऐतिहासिक शान्ति सम्झौतापछि विश्वव्यापी ऊर्जा बजारमा ठूलो परिवर्तन देखिन थालेको छ। ब्लूमबर्गको रिपोर्टअनुसार अमेरिकाको तर्फबाट आर्थिक प्रतिबन्धहरू फुकुवा वा खुकुलो हुने संकेत पाएलगत्तै इरानले आफ्नो सबैभन्दा ठूलो ग्राहक चीनलाई बेच्ने कच्चा तेलको मूल्यमा भारी कटौती गरेको छ।
जुलाई महिनामा डेलिभरी हुने ‘इरानियन लाइट क्रूड’ को मूल्यमा इरानी तेल व्यापारीहरूले अन्तर्राष्ट्रिय मानक ब्रेंट क्रूडको तुलनामा प्रति ब्यारेल २.५ देखि ५ डलरसम्मको भारी छुट दिन थालेका छन्। सम्झौता हुनुअघि यस्तो छुट प्रति ब्यारेल करिब १ डलर मात्र रहेकोमा, अहिले इरानले चिनियाँ खरिदकर्ताहरूलाई आकर्षित गर्न र आफ्नो बजार हिस्सा सुरक्षित गर्न छुटको दायरा उल्लेख्य रूपमा बढाएको हो।
विशेषज्ञहरूका अनुसार यो कदममार्फत इरानले एसियाली बजार, विशेष गरी चीनमा आफ्नो पकडलाई अझ बलियो बनाउन चाहेको छ। चीन लामो समयदेखि इरानी तेलको सबैभन्दा ठूलो रणनीतिक खरिदकर्ता रहँदै आएको छ।
लामो समयसम्म प्रतिबन्ध र भू-राजनीतिक तनावका कारण भूमिगत वा तेस्रो मुलुकको मार्ग प्रयोग गर्दै आएको इरानले अब भने रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बाट खुला रूपमा तेल निर्यात गर्न सुरु गरेको छ। तथ्याङ्कअनुसार जुन १५ पछिका ६ दिनमा मात्रै इरानले करिब ३ करोड ६० लाख ब्यारेल कच्चा तेल निर्यात गरिसकेको छ, जसले विश्व बजारमा तेलको आपूर्तिलाई ह्वात्तै बढाएको छ।
यो निर्यात परिमाण पश्चिम एसियामा तनाव वा युद्ध सुरु भएयताकै सबैभन्दा उच्च स्तर हो। यसअघि मे महिनामा कडा प्रतिबन्ध र युद्धको त्रासका कारण इरानको तेल निर्यात घटेर दैनिक २ लाख ९ हजार देखि २ लाख ६० हजार ब्यारेलमा मात्र सीमित हुन पुगेको थियो।
तर, अमेरिका र इरानबीचको पछिल्लो कूटनीतिक सफलता र शान्ति सम्झौतापछि इरानले आफ्नो आर्थिक मेरुदण्ड मानिएको तेल उद्योगलाई पूर्ण क्षमतामा फर्काउन सफल भएको छ। यो नयाँ घटनाक्रमले आगामी दिनमा विश्व बजारमा कच्चा तेलको मूल्यलाई थप स्थिर बनाउन वा घटाउन सहयोग गर्ने र एसियाको ऊर्जा राजनीतिमा चीन र इरानको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्लेषण गरिएको छ।







डिसी नेपाल







Facebook Comment