व्यवसायी वीरेन्द्र बस्नेतको घोषणा : अब देश र समाज सेवामा सक्रिय हुनेछु

डिसी नेपाल
२२ फागुन २०८२ १३:३३
100
Shares

काठमाडौं। व्यवसायी तथा सामाजिक अभियन्ता वीरेन्द्र बहादुर बस्नेतले अबदेखि स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देश सेवामा सक्रिय रहने घोषणा गरेका छन्।

बस्नेतले शुक्रबार एक वक्तव्य जारी गर्दै भदौ २३ र २४ गते देशभर भएको जनविद्रोह र त्यस क्रममा ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको बताएका छन्।

उनका अनुसार ती घटनाहरू केवल संयोग नभई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितीविरुद्धको जनआवाजको विस्फोट थियो।

उनले उक्त विद्रोहपछि २४ घण्टाभित्रै पुरानो सत्ताको पतन भएको उल्लेख गर्दै त्यस घटनाले देश नयाँ दिशातर्फ मोडिन सक्छ भन्ने विश्वास आफूमा जन्माएको बताएका छन्। यही विश्वासका आधारमा आफू नयाँ राजनीतिक अभियानमा सहभागी भई गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेको उनले स्मरण गरेका छन्।

तर हालको राजनीतिक संस्कार आफ्नो मूल्य र सोचसँग मेल नखाएको निष्कर्षमा पुगेपछि पार्टी तथा पदको सीमाभित्र रहेर देशप्रतिको योगदान दिन कठिन भएको महसुस गरेको उनले बताएका छन् । त्यसैले अब फरक बाटो रोजेर स्वतन्त्र रूपमा समाजसेवामा सक्रिय रहने निर्णय लिएको उनको भनाइ छ। बस्नेतले आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उल्लेख गरेका छन्।

उनले गतिशील लोकतान्त्रिक पार्टीलाई आफ्नो सिद्धान्त, मूल्य र एजेण्डाप्रति प्रतिबद्ध रहन शुभकामना व्यक्त गर्दै अन्य लोकतान्त्रिक राजनीतिक दलहरूलाई पनि सफलताको कामना गरेका छन्।

बस्नेतले अब आफू स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिकहरूको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.