गगनमाथि खनिएकाहरूलाई निर्मम प्रश्न

जितेन्द्र जिसी
२४ फागुन २०८२ ११:१८
3.1k
Shares

फ्रान्सेली दार्शनिक अल्बर्ट कामुले आफ्नो निबन्ध ‘द रिबेल’ मा लेखेका छन्-“विद्रोह अत्याचार र अन्यायपूर्ण व्यवस्थाविरुद्धको मानवीय गरिमाको खोजी हो। विद्रोहले व्यक्तिगत असहमति मात्र प्रकट गर्दैन, यसले त सामूहिक अस्तित्व र चेतनाको निर्माण पनि गर्छ।”

राजनीतिमा विद्रोहलाई सधैं शक्तिको अन्तिम र सबैभन्दा पवित्र स्रोत मानिन्छ। नेपालको समकालीन राजनीतिमा, विशेषगरी नेपाली कांग्रेसको वृत्तमा, गगन थापाको छवि यस्तै एउटा अविचलित विद्रोहीको बनेको छ।

उनले पार्टीभित्रको जरा गाडेर बसेको सत्ता र राज्यको अकर्मण्यताविरुद्ध सधैं प्रश्न गरिरहे। उनले केवल प्रश्न मात्रै सोधेनन्, विचार मन्थनबाट जवाफ खोजे, समय र परिस्थितिलाई जवाफ दिए, र आज पार्टी र सिङ्गो देशलाई ‘समाधान’ दिने ऐतिहासिक र जोखिमपूर्ण स्थानमा आफूलाई उभ्याएका छन्।

तर, भर्खरै सम्पन्न मध्यावधि निर्वाचनको नतिजाले एउटा अर्कै कथा भनिरहेको छ। अन्तिम नतिजा आउन बाँकी नै रहँदा पनि प्रारम्भिक रुझान र गणनाले नेपाली कांग्रेसले अनपेक्षित हार बेहोरेको स्पष्ट निचोड दिइसकेका छन्।

लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया हो, तर यो अनपेक्षित हारलगत्तै कांग्रेसभित्रैका केही मानिसहरूले, जो हिजो घाम तापेर बसेका थिए, आज सामाजिक सञ्जाललगायतका मञ्चहरूबाट गगन थापामाथि सम्पूर्ण दोष थोपर्दै धारे हात लगाउन थालेका छन्। यो केवल गलत मात्र होइन, यो नेपाली कांग्रेसलाई सधैंभरि ‘जिउँदा लासहरूको झुण्ड’ बनाइराख्ने दुराशयपूर्ण षड्यन्त्रको एउटा निरन्तरता हो।

आज पानी धमिलो पारेर माछा मार्न खोज्नेहरूलाई ऐना देखाउन र कांग्रेसको वास्तविक धरातलीय यथार्थको निर्मम शल्यक्रिया गर्न यो आलेख तयार पारिएको छ।

हारको बिउ: आजको गगन कि २०५० सालदेखी को नेतृत्व?

आज गगन थापालाई हारको अपजस दिनेहरूले इतिहासको पाना पल्टाएर हेर्ने साहस गरून्। आजको चुनावी नतिजा गगन थापाले हिजो गरेका एक-दुईवटा निर्णयको प्रतिफल हुँदै होइन; यो त वि.सं. २०५०-०५१ सालदेखि नेपाली कांग्रेसको परम्परागत नेतृत्वले रोपेको अहङ्कार, गुटबन्दी र वैचारिक स्खलनको विषालु बिउ हुर्किएर बनेको रूखको तीतो फल हो।

पार्टीलाई वैचारिक रूपमा खोक्रो बनाउने, कार्यकर्तालाई रैती र दास बनाउने, र सत्ता स्वार्थका लागि जोसँग पनि सम्झौता गर्ने प्रवृत्ति कसले सुरु गर्‍यो? गगनले त भत्किसकेको, मक्किसकेको र धमिराले खाइसकेको घरलाई टेको दिएर उभ्याउने प्रयास गरेका हुन्।

आजको हारको पछाडि तीन दशकदेखि थुप्रिएको फोहोर जिम्मेवार छ, न कि त्यो फोहोर सफा गर्न कुचो बोकेर निस्किएको व्यक्ति। जस जसले गगन दोषी देख्छ आज, सबै आफ्नो चस्मा बदल्न जानै पर्दछ ।

टिकट वितरण र देउवा कोटरीको अनुहार

गगन थापामाथि सबैभन्दा ठूलो आक्रोश टिकट वितरणलाई लिएर पोखिएको छ। गगनलाई गाली गर्नेहरूले एकपटक छातीमा हात राखेर सोचून्- यदि गगनले हस्तक्षेप नगरेको भए र सभापति शेरबहादुर देउवाको ‘कोटरी’ (घेरा) ले मात्र आफ्ना खल्तीका मानिसलाई टिकट बाँडेको भए नतिजा के हुन्थ्यो? हिजोका दिनमा ती कोटरीले अघि सारेका अनुहार (आज को काङ्ग्रेस को यो हालत बनाउने), उनीहरूको अलोकप्रियता र समाजमा उनीहरूको छवि सम्झेर मात्र पनि सहजै अनुमान गर्न सकिन्छ कि, अवस्था योभन्दा कैयौं गुणा दर्दनाक हुने थियो।

सामान्य कामकोलागिपनि ‘भाउजुलाई भेटी नचढाई दर्शन नपाउने’ कांग्रेसको परम्परागत संस्कारलाई तोडेर यसपटक टिकट वितरणमा जुन ‘क्रिस्टल क्लियर’ र पारदर्शी व्यवहार गगनको नेतृत्वमा गरियो, त्यसले कम्तीमा पार्टीको साख सडकमा लिलाम हुनबाट जोगायो। यदि त्यो हस्तक्षेप नभएको भए, आज कांग्रेस एक-दुई सिटमा खुम्चिएर इतिहासको पानामा सीमित हुने थियो।

विशेष महाधिवेशन र चुकेको अभिभावकत्व

विशेष महाधिवेशनलाई लिएर गगन र विश्वप्रकाश शर्मामाथि जुन लान्छना लगाइँदै छ, त्यो झनै हास्यास्पद छ। त्यहाँ उपस्थित हजारौं प्रतिनिधिहरूलाई कसैले दाम्लोले बाँधेर वा ‘भात र भत्ता’को प्रलोभन देखाएर तानेर ल्याएको थिएन।

उनीहरू पार्टीभित्रका गलत क्रियाकलाप, स्वेच्छाचारी गतिबिधि र लोकतन्त्रविरोधी प्रक्रिया रोक्न, अनि पार्टीको जीवन जीवित राख्न स्वस्फूर्त भेला भएका सचेत कांग्रेस सदस्यहरू थिए। यदि त्यो विशेष महाधिवेशनको ऊर्जा सञ्चार नभएको भए, कांग्रेस सधैंका लागि दासहरूको बथान हुन्थ्यो र आज कांग्रेसका कार्यकर्ताले कम्युनिस्टलाई मत दिएर बस्नुपर्ने बाध्यता हुन्थ्यो।

त्यो घडीमा सभापति देउवा वा उनका उत्तराधिकारीहरूले एउटा अभिभावकको रूपमा त्यहाँ गएर सम्बोधन मात्र गरिदिएको भए वा सल्लाह दिएको भए स्थिति अर्कै हुन्थ्यो। तर, कांग्रेसभित्रका ‘तरमारा’ र ‘भातमारा’ हरूले देउवालाई त्यहाँ जान रोके, महामन्त्रीद्वयलाई भेट्नसमेत दिएनन्। हिजो पार्टीको आन्तरिक लोकतन्त्रलाई बन्धक बनाउने तिनै स्वार्थी तत्त्वहरू आज नतिजा बिग्रिएपछि रोएर केही हुँदैन।

गठबन्धनको रोइलो र सिद्धान्तको विजय

“एमालेसँग गठबन्धन गरेन, त्यसैले हारियो” भनेर रुनु राजनीतिक दरिद्रताको पराकाष्ठा हो। हिजोका दिनमा गठबन्धन गर्दाका तीता अनुभूतिहरू, कार्यकर्ताले भोगेको मानसिक प्रताडना र पार्टीको विचारमै लागेको खियालाई सम्बोधन गर्दै, सत्ता र स्वार्थको अपवित्र गठबन्धनभन्दा गगनले जुन ‘हार’ को बाटो रोजे, त्यो लोकतान्त्रिक इतिहासमा एउटा ‘पूजनीय कार्य’ हो।

गठबन्धन गरेन भनेर रोइलो गर्नेहरूले बुझ्नुपर्छ-रास्वपाको यो लहर र भिडतन्त्रको हुरीमा उनीहरू गठबन्धन गरे पनि हराउने नै थिए। जस-जसलाई गठबन्धन चाहिएको थियो, ती मानिसहरूले आफ्नो चुनाव क्षेत्रमा अर्को दलको (गठबन्धन गर्न खोजेको दलको) मत जोडेर हेरून् र मन बुझाऊन्, सायद त्यसले उनीहरूको मानसिक तनाव कम होला।

अझै पीडा कम भएन भने, विचारविहीन गठबन्धन खोज्नेहरूलाई दल बदलेर जाने छुट सुरक्षित छँदैछ। तर, पार्टीभित्रै बसेर खाने-नखाने सबै खाएर, वा खानै नपाएर जम्मा भएको आफ्नो ‘तुष’ निकालेर सिङ्गो पार्टीलाई दूषित गर्ने काम बन्द हुनुपर्छ। कांग्रेसले कांग्रेसलाई मत नदिएर अन्यत्र दिँदै कांग्रेस भइरहनु भन्दा बाटो लाग्नु नै श्रेयस्कर छ।

‘स्वर्णिम वाग्ले पथ’ र लोभीपापीको बहिर्गमन

चुनावपछि फेरि एउटा पुरानो समूह सलबलाएको छ- ‘स्वर्णिम वाग्ले मार्का’। यो त्यस्तो समूह हो जो पद र अवसर पाउँदा रमाउँछ, सङ्कटमा जिम्मेवारी निभाउनुपर्दा तिघ्रा कमाउँछ, र अलिकति स्वार्थ नमिल्दा भरिलो हाँगो खोज्दै अर्कै रुखमा भ्यागुतोझैं उफ्रिन्छ।

अब कांग्रेस रिफर्मको अर्को निर्मम सेगमेन्ट भनेकै यस्ता लोभीपापी झुण्डहरूलाई पर्गेल्ने हो। स्व. किशुनजीको पालादेखि खाइपाइ आएकाहरूदेखि, देउवा र स्वयम् गगनकै नामसमेत दुरुपयोग गरेर खाने अनि हारपछि उनैलाई औंला ठड्याउनेहरूको बहिर्गमन अब पार्टीकालागि अनिवार्य सर्त हो। दल सानो होस्, तर पार्टीलाई भित्रभित्रै खोक्रो बनाउने जुकाहरू सकिनुपर्छ।

विदेशतिर सामान्य ‘राइड सेयरिङ एप’ (Ride-sharing App) ले त चालक मात्र होइन कस्टमर कस्तो छ भनेर रेटिङ (Rating) राख्छ। अब राजनीतिक दलहरूलेपनि पार्टीको नाम बेचेर खाने र दल बदल गर्नेहरूको ‘ट्र्याक रेकर्ड’ राख्न जरुरी छ, ताकि जो जतागए पनि उनीहरूको हैसियत र भूमिकाको मूल्यांकन सही रूपमा हुन सकोस्। पद नपाउँदा निस्किने ‘स्वर्णिम वाग्ले पथ’ मा हिँड्न कसैलाई रोकिएको छैन। नेतृत्व गर्ने दम भए महाधिवेशनमा भिड्न आउने हो, सञ्जालमा गगनलाई गाली गरेर आफ्नो अनुहार कुरूप पार्ने होइन।

भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थालाई सिधा प्रश्न

केही निम्छराहरू अचेल देउवालाई देउता देख्छन् र गगनलाई निकृष्ट। हिजो चुनावको सङ्ग्राम चलिरहँदा यी मानिसहरू कता थिए? यत्रो चुनावमा न नेविसंघ मैदानमा देखियो, न तरुण दल। सभापति बुटवल पुग्दा तरुण दलका ५-७ वटा क्याप देखिएका थिए, अन्यत्र कहाँ थियो पार्टीको पङ्क्ति?

नेविसंघका अध्यक्षको फेसबुक स्टाटस देखियो, उनलाई सिधा प्रश्न छ- “भाइ, तिमी चुनावभरि कतिवटा क्षेत्रमा गयौ? कति कार्यकर्ता परिचालन गर्यौ? कति मतदाता कन्भिन्स गर्यौ र अहिले प्रश्न गर्दैछौ?” यही प्रश्न कांग्रेसका अन्य भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विभाग प्रमुखहरूलाई पनि हो। ख्वै तपाईंहरू सञ्चै त हुनुहुन्छ?

कतिपयको स्टाटस देखिन्छ, “गगनको जति लगानी मेरो पनि छ।” छ भने आज सञ्जालमा हुइँया गर्ने होइन, पार्टीको परिधिभित्र रहेर प्रतिस्पर्धा गर्ने हो। ‘जेठाजुको बञ्चरो लाग्ने भएर धेरै दाउरा काटेको’ भन्ने भनाइजस्तो हुँदैन। कांग्रेसले कांग्रेसको प्रचार गर्न नहिँड्ने अनि हारको औंला अरूतर्फ फर्काएर चोखिन मिल्दैन।

भदौ २३ को मौनता र सामाजिक सञ्जालका ‘क्रान्तिकारी’हरू

गगनलाई प्रश्न गर्न प्रयोग हुने सञ्जाल र औंलाहरू त्यतिबेला किन काँपेका थिए, जब भदौ २३ मा आन्दोलनकारी मार्नेहरू कांग्रेस र एमाले हुन् भन्ने नियोजित आरोप लगाइएको थियो?

देश जलाउने र देश जलाउनेलाई जोगाउने सुशीला सरकारको विरुद्धमा बोल्न यी सञ्जालका क्रान्तिकारीहरूको सातो किन गयो? कार्की आयोगको रिपोर्ट सार्वजनिक गर्न चुनावको नतिजा पर्खिने षड्यन्त्रकारीहरूको भण्डाफोर गर्न किन कलम चलेन?

अनि आज हारको अपजस गगनलाई दिन तयार बसेकाहरूले, यो दुर्दिन आउँछ भनेर हिजो आफ्ना ‘देउता’ (नेतृत्व) लाई सचेत गराउन किन सकेनन्? तसर्थ, धमिलो पानीमा माछा मार्न छोडौं। पानी सङ्लिन दिऊँ, अनि ऐनामा आफ्नो अनुहार हेरौं। जवाफ आफैं आउनेछ। नैतिकता सञ्जालमा नसिकाऔं, सही समयमा सही समाचार आउनेछ।

हारबाट उठ्ने संकल्प र झुट्टा बाचापत्रको चिरफार

इतिहासमा एउटा चुनाव हार्दैमा सिद्धान्त र विचार मर्छ भन्ने हुँदैन। बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध जितेर पनि लगत्तैको सन् १९४५ को निर्वाचन हारेका थिए।

तर, उनी भागेनन्, पार्टीलाई रिफर्म गरे र सन् १९५१ मा पुनः उदाएर बेलायतलाई समृद्धिको बाटोमा डोर्‍याए। अब्राहम लिंकनले जीवनमा थुप्रै चुनाव हारे, तर अन्ततः अमेरिकालाई दासत्वबाट मुक्त गरे।

सुप्रसिद्ध नाटककार स्यामुएल बेकेटले भनेका छन्-“Ever tried. Ever failed. No matter. Try again. Fail again. Fail better.” (प्रयास गर्‍यौ। असफल भयौं। केही छैन। फेरि प्रयास गर। फेरि असफल होऊ। तर यसपटक अझ राम्रोसँग असफल होऊ।)

गगनको यो हार, सिद्धान्त विहीन जितभन्दा कैयौं गुणा सुन्दर र अर्थपूर्ण हार हो। यो हारले नेपाली कांग्रेसभित्रका सबै अँध्यारा र काला कलुषित मनोकाङ्क्षाहरूलाई किनारा लगाउँदै ‘कांग्रेस रिफर्म’ गगनबाटै मात्र सम्भव छ भन्ने बलियो र निर्विकल्प सन्देश दिएको छ।

आज जसले चुनाव जितेका छन् वा जित्दैछन्, उनीहरूका बाचापत्र हरू एकपटक हेरौं। ती बाचापत्रहरू आर्थिक, भौतिक र कूटनीतिक दृष्टिकोणले पूर्ण रूपमा असम्भव र हावामा उडाइएका बेलुनहरू हुन्।

प्रतिव्यक्ति आय ५ वर्षमा ३००० डलर पुर्‍याउने गफ: नेपालको वर्तमान आर्थिक वृद्धिदर र उत्पादनको आधारभूत संरचना नबदलीकन यो सम्भव नै छैन।

१०० बिलियन डलरको अर्थतन्त्र औद्योगिकीकरणको शून्य धरातलमा उभिएर यो गफ दिनु जनतालाई दिउँसै सपना देखाउनु हो। विदेशी ऋण मिनाहा र अनुदानको खोलो बगाउने झुट्टो दाबी: भूराजनीतिको सामान्य ज्ञानसमेत नभएकाहरूको यो ‘स्टन्ट’ कूटनीतिक रूपमा आत्मघाती छ।

तत्काल लाखौं रोजगारी सिर्जना: राज्यको ढुकुटी रित्तो भएको बेला निजी क्षेत्रलाई सङ्कुचित गरेर रोजगारी दिने कुरा हास्यास्पद छ।

जब यी झुट्टा र भ्रामक बाचाहरूका बेलुनहरू एक-दुई वर्षमै फुट्नेछन्, जब जनताको पपुलिस्ट मोह भङ्ग हुनेछ र देश झनै गहिरो आर्थिक र सामाजिक सङ्कटमा फस्नेछ, तब यो देशको जिम्मा लिने र सम्हाल्ने शक्ति भनेको अन्ततः नेपाली कांग्रेस नै हो,र पार लगाउने गगन र उनकै “टीम नेपाल” हो, स्विकार्न असजिलो भए पाचक खान पाइन्छ । ।

त्यसकारण, यो बेला सञ्जालमा रोएर बस्ने, आफ्नै अनुहारमा मसी छर्किने वा भागबन्डा नपाएर रुने बेला होइन। बिग्रहका यी ‘तुष उत्पादन केन्द्रहरू’ अब बिस्तारै अन्त्यतिर लाग्दा कांग्रेस र देशलाई अलि सञ्चो हुनेछ। अबको तयारी भनेको नागरिक र राज्यप्रतिको दायित्वमा खरो उत्रने ‘बदलिएको कांग्रेस’ निर्माण गर्ने हो।

सबै ‘अड एन्ड इभन’  परिस्थितिमा पार्टीमा अडिएर, जिउँदाहरूको र जीवित विचारको चलायमान दल बनाउने नेता यदि अरू कोही थिए भने, गगन आउँदा त्यो स्थान खाली नै थियो।

विद्रोहको आगोबाट खारिएर निस्किएको सुन कहिल्यै पुरानो हुँदैन। गगन थापाको निर्णय हिजो पनि सही थियो, आज पनि सही छ र भोलिको समृद्ध नेपाल निर्माणको जग पनि त्यही निर्णयले बसाल्नेछ। ‘तरमारा’ र ‘भातमारा’ हरूबाट कांग्रेस अझै बच्नुपर्नेछ।

जसलाई यो विचार र सङ्घर्षको बाटो कठिन लाग्छ, उनीहरूलाई ससम्मान ‘स्वर्णिम वाग्ले पथ’ अँगाल्न विनम्र सुझाव छ। बाँकी रहेका सचेत कांग्रेसीहरूले अब आउँदो दिनको त्यो ऐतिहासिक जिम्मेवारीका लागि आफूलाई तयार राख्नुपर्छ।

तसर्थ गगन लाई हार्ने छुट नै छैन, थकाइ मार्ने छुट छैन, गिरिजा प्रसाद देखी शेर बहादुर सम्मले कारबाही गरेर नलत्रीएको गगन सञ्जालमा कोही रुदैमा कमजोर हुँदैन । कती ‘विज्ञहरु’लाई सुझाब सुनिएन भन्ने लागेको समेत देखियो, सञ्जालमा रुने न ‘विज्ञ’ हुन्छ, न ती ‘पधेर्नी’ कुरा कसैले सुन्छ । तसर्थ आफै बाट सुधार गरेर बदलिएर पार्टिमा आउन अनुरोध छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.