दिल्ली क्यापिटल्सको सनसनीपूर्ण जित: माधव तिवारीको अलराउन्ड प्रदर्शनमा पञ्जाब स्तब्ध
नयाँ दिल्ली। इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक प्रतिस्पर्धामा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्समाथि ३ विकेटको सानदार जित दर्ता गरेको छ।
घरेलु मैदानमा भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको २११ रनको विशाल लक्ष्यलाई दिल्लीले १९ ओभरमै ७ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो। अन्तिम समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको यस खेलमा दिल्लीले ६ बल बाँकी छँदै जित सुनिश्चित गर्दा पञ्जाबका बलरहरूले अन्तिम ओभरतिर लय गुमाउन पुगेका थिए।
पञ्जाब किंग्सले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१० रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले सुरुदेखि नै आक्रामक रणनीतिका साथ रन जोडेको थियो।
दिल्लीको इनिङलाई बलियो बनाउन कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय योगदान दिए। पट्टेलले मात्र ३० बलमा ५६ रनको जिम्मेवार इनिङ खेल्दा मिलरले २८ बलमा ५१ रनको विष्फोटक ब्याटिङ गर्दै टोलीलाई लक्ष्यको नजिक पुऱ्याएका थिए।
यद्यपि, खेलको अन्तिम मोडमा माधव तिवारीको प्रदर्शन निर्णायक सावित भयो। उनले बलिङतर्फ महत्वपूर्ण २ विकेट लिँदै पञ्जाबको मध्यक्रमलाई दबाबमा राखेका थिए भने ब्याटिङमा पनि विष्फोटक रूप देखाउँदै मात्र ८ बलमा १८ रन जोडेर टोलीलाई फिनिसिङ लाइन पार गराए। बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रभाव जमाएपछि तिवारीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
यस जितपछि दिल्ली क्यापिटल्सले तालिकामा आफ्नो स्थितिमा सुधार गर्दै १२ खेलबाट १० अंक बटुलेको छ, यद्यपि टोली अझै सातौँ स्थानमा यथावत छ। पराजित पञ्जाब किंग्स भने ११ खेलबाट १३ अंकका साथ चौथो स्थानमा कायम छ।
दिल्लीका लागि यो जितले आगामी खेलहरूका लागि मनोबल उच्च बनाएको छ भने पञ्जाबलाई प्ले-अफको दौडमा थप सजग रहनुपर्ने सन्देश दिएको छ।







डिसी नेपाल







Facebook Comment