क्रियाशील सदस्य बराबर पनि मत नआएपछि कांग्रेसमा हलचल: सदस्यता प्रणालीलाई डिजिटल बनाइँदै
सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले पार्टीको सदस्यता अद्यावधिक गर्ने कार्य कसैको गौरवमय इतिहास मेट्न नभई त्यसलाई थप सुरक्षित र व्यवस्थित बनाउन सुरु गरिएको स्पष्ट पारेका छन्।
सुर्खेतमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा स्थानीय तह केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पुरानो पुस्ताका नेताहरूको योगदानलाई डिजिटल माध्यमबाट सदाका लागि सुरक्षित गरिने बताए।
केही अग्रज नेताहरूले बीपी कोइरालाको पालादेखि लिएको सदस्यताको इतिहास मेटिन लागेको भन्दै व्यक्त गरेको आशंकाप्रति लक्षित गर्दै उनले भने, “हामी तपाईँहरूको इतिहास मेट्न होइन, भविष्यसम्म कसैले नबिर्सने गरी डिजिटल अभिलेखमा सुरक्षित गर्न चाहन्छौं।” उनले पार्टीका सदस्यहरूलाई नयाँ ढंगबाट अद्यावधिक गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेकोमा जोड दिए।
गत निर्वाचनको तथ्याङ्क प्रस्तुत गर्दै महामन्त्री पौडेलले १६५ निर्वाचन क्षेत्रमध्ये १७ क्षेत्रमा पार्टीका क्रियाशील सदस्य बराबरको मत समेत प्राप्त हुन नसक्नु चिन्ताको विषय भएको बताए।
उनले समयसँगै चुनावी प्रचारको शैली बदलिएको तर कांग्रेसले त्यसलाई आत्मसाथ गर्न नसकेको स्वीकार गरे। “हिजोको जस्तो आमसभा, जुलुस र भित्ते लेखनले मात्र अब चुनाव जित्न सकिँदैन, त्यसैले सदस्यहरूलाई डिजिटल फ्रेममा ल्याएर केन्द्रसँग सिधै जोड्न खोजिएको हो,” उनले थपे।
डिजिटल प्रणाली लागू भएपछि पार्टीको जरा (तल्लो तहका कार्यकर्ता) र केन्द्रबीच सिधै संवाद हुने र नीतिगत परिवर्तनका सवालमा सदस्यहरूले नेतृत्वलाई प्रविधिमार्फत सुझाव दिन सक्ने वातावरण बन्ने उनले विश्वास व्यक्त गरे।
यो अभियानले पार्टीभित्र मनपरी गर्न नभई वैचारिक रूपमा सबैलाई गोलबन्द गर्न र सदस्य भएकोमा गर्व गर्ने वातावरण निर्माण गर्न मद्दत पुग्ने उनको भनाइ थियो। आगामी स्थानीय र प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै सबै सदस्यहरूलाई पार्टीका उम्मेदवार जिताउन सक्रिय बनाउन पनि यो अद्यावधिक कार्य महत्त्वपूर्ण हुने महामन्त्री पौडेलले बताए।







डिसी नेपाल







Facebook Comment