कर्णालीबाट चुनाव लडेका नौ पूर्वमन्त्री मध्ये ६ जनाको लज्जास्पद हार

खगेन्द्र भट्टराई
२५ फागुन २०८२ १५:१७
32
Shares

सुर्खेत। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका कर्णालीका छ जना पूर्वमन्त्रीलाई मतदाताले पत्याएनन्। विभिन्न पार्टीबाट पटक पटक मन्त्री बनेकाहरू चुनावबाट पराजित भएका छन्। १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कर्णाली प्रदेश सरकारका चार र सङ्घीय सरकारका पाँच जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा होमिएका थिए।

पाँच जना सङ्घीय पुर्वमन्त्रीहरुमध्ये पूर्वअर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वपर्यटन मन्त्री खड्काबहादुर विश्वकर्माले चुनावमा हार व्येहोर्नुपर्‍यो। सङ्घीय सरकारमा मन्त्री भएका डोल्पाका धनबहादुर बुढा र कालिकोटका महेन्द्रबहादुर शाहीले चुनाव जितेर फेरी सिंहदरबारमा छिर्ने मौका पाएका छन्। डोल्पाका बुढा पूर्व सहरी विकास मन्त्री र कालिकोटका शाही कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा सङ्घीय सरकारका पूर्वऊर्जा मन्त्री हुन्।

कर्णाली प्रदेश सरकारका चारजना पूर्वमन्त्री मध्ये रुकुम पश्चिमका गोपाल शर्माले चुनाव जितेका छन्। कर्णाली सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, पूर्वकृषि मन्त्री चन्द्रबहादुर शाही र भौतिक विकास मन्त्री अम्मरबहादुर थापालाई मतदाताले तिरस्कार गरे।
पूर्वमन्त्री भण्डारी जुम्लाबाट, शाही मुगुबाट र थापा दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए। रोचक त के छ भने पराजित भएका सबै मन्त्रीहरूलाई आफ्नै पूर्वसहकर्मीहरूले हराएका छन्।

तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मालाई उनकै पूर्वस्वकीय सचिव गोपाल शर्माले पराजित गरेका छन्। २०६४ साल यता रुकुम पश्चिमबाट लगातार चुनाव जित्दै आएका जनार्दनलाई गोपाल शर्माले सात हजार २६३ मतान्तरले हराए।

२१ हजार ६०९ मत प्राप्त गरी गोपाल शर्मा निर्वाचित हुँदा जनार्दन दोस्रो हुनपनि सकेनन्। यहाँ नेपाली काँग्रेसका राजु केसी १६ हजार ६६१ मत प्राप्त गरी दोस्रो बने। नेकपाबाट अलग्एिर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेर चुनावमा गएका जनार्दनको १८ वर्षदेखिको निरन्तर संसदीय यात्राको बाटोमा ब्रेक लाग्यो।

जाजरकोटमा २०६४ यताका सबै निर्वाचनमा कहिल्यै एक्लै र कहिल्यै गठबन्धन गरेर पनि जित्दै आएका शक्तिबहादुर बस्नेत पनि नाम मात्रैका शक्ति देखिए। वास्तविकतामा उनी ‘शक्तिहीन’ भइसकेको निर्वाचन परिणामले देखायो। यहाँ १८ वर्षदेखिको कम्युनिष्ट ‘गढ’ तोड्नै नेपाली कांग्रेसका खड्कबहादुर बुढाले शक्तिलाई शक्तिहीन साबित गरिदिए। बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे। बस्नेत यस अघि तीन पटक जाजरकोटबाट विजयी भएका थिए।

१८ वर्षपछि संसदीय राजनीतिमा फर्किएका पुर्वमन्त्री नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले पनि आफ्नै पूर्वसहकर्मीबाट चुनावी हार व्यहोरे। कालिकोटका सबै संसदबादी दल एक हुँदा पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएका प्रकाण्डको यो हार लज्जास्पद भयो।
२०६४ सालको संविधानसभा निर्वाचनमा कालिकोटबाट १६ हजार ३८८ मतान्तरसहित २७ हजार ६२९ मत ल्याएर चुनाव जितेका विश्वकर्माले चार हजार ५९९ मतमा खुम्चिनु पर्यो।

नेकपाका महेन्द्रबहादुर शाहीले चौथो पटक चुनाव जितेर संसदीय यात्रामा होमिदा तत्कालीन माओवादी थालेको ‘जनयुद्ध’को योजनाकार ‘प्रकाण्ड’ चौथो स्थानमा सीमित भए। ‘नेकपाका सबै नेताहरू मेरो राजनीतिक बच्चा हुन’ उनले चुनाव प्रचारक क्रममा ठाउँ ठाउँमा भन्दै आएका थिए तर कालिकोटका मतदाताले अभिभावक मानिएका प्रकाण्डलाई भन्दा ‘बच्चा’ महेन्द्रलाईलाई पत्याइ दिए।

तत्कालीन नेकपा एमालेबाट विद्रोह गरी कर्णाली सरकारमा फ्लोर क्रस गरेर कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका अमरबहादुर थापालाई दैलेख निर्वाचन क्षेत्र १ बाट मतदाताले तिरस्कार गरे। २०७० को संविधानसभा, २०७४ को प्रदेशसभा र २०७९ को प्रतिनिधिसभामा जित निकालेका नेकपाका अम्मरबहादुर थापाले लज्जास्पद हार व्यहोरेका छन्।

नेपाली काँग्रेसकी बासना थापाले १२ वर्षपछि कम्युनिस्ट गढ तोडेर विजयको भण्डा पहराएकी छिन्। थापाले १२ हजार ३७२ मत ल्याएर ५७६ मतान्तरमा नेकपा एमालेका रवीन्द्रराज शर्मालाई हराउँदै थापा विजयी भएकी हुन्।

शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्। रास्वपाका नन्द किशोर बस्नेतले आठ हजार १५१ मत प्राप्त गरी तेस्रो स्थानमा हुँदा नेकपाका अम्मरबहादुर थापाले चार हजार २५६ मतमा सीमित हुनु परेको छ।

कर्णालीका सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले पराजित गरेका छन्।
शाहीले १४ हजार ८१६ मत प्राप्त गरेर जित्दा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार एक सय ८१ मतान्तरले पराजित गरे। भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे।

नेकपा एमालेबाट एकीकृत समाजवादी हुँदै नेकपाबाट चुनाव लडेका मुगुका चन्द्रबहादुर शाही उपविजेता पनि बन्ने सकेनन्। मुगुमा नेपाली कांग्रेसका खडकबहादुर शाहीले चन्द्रबहादुरलाई हराएका छन्। खडक शाहीले मुगुमा सात हजार ९१४ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका पूर्णबहादुर रोकाया छ हजार ७१८ मतसहित निकटतम प्रतिस्पर्धी बने। नेकपाका चन्द्रबहादुर शाहीले पाँच हजार ५५८ मत ल्याएर तेस्रो स्थानमा सीमित हुन परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.