राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
म्याग्दी। रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ। सडक निर्माणसँगै विस्थापित भएको रघुगंगा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो।
एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ मिटर दूरीमा फलामको रेलिङसहितको पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख बजेट विनियोजन गरेको उक्त पदमार्ग निर्माणका लागि उपभोक्ताले रु ३६ हजारबराबरको श्रमदान गरेका छन्।
दुई दशकअघि सडकको मार्ग खुलेपछि विस्थापित बनेको पदमार्ग पछिल्लो समय पहिरोका कारण छियाछिया हुँदा विषेश गरेर घाटमा शव ल्याएर आउन मलामीलाई असहज भएको थियो। भिरालो र अप्ठ्यारो ठाउँमा पदमार्ग तथा रेलिङ बनेपछि सहज र सुरक्षित रूपमा यात्रा गर्न पाएका बगैँचाका बासिन्दा नारायण सुवेदीले बताए।
म्याग्दी १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जिल्लाकै ठूलो बस्तीका बासिन्दाले प्रयोग गर्ने पदमार्गलाई व्यवस्थित गर्ने कार्यलाई पूर्णता दिन आगामी वर्षको वार्षिक योजनामा समावेश गरी बजेट विनियोजन गराउन पहल गरिने बताए।







डिसी नेपाल







Facebook Comment