विकास र समृद्धिका लागि लगानी भित्र्याउने पन्तको घोषणा
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गरेका छन्।
सङ्घको अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गर्दै उहाँले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने बताए। विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उहाँको उद्घोष थियो ।
पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने बताए।
सङ्घलाई कुनै पनि राजनीतिक छत्रछायाबाट मुक्त गरी विशुद्ध गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल बाहिर रहेको सबै नेपालीलाई समेट्ने बताए।
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको अवस्था आफूले नजिकबाट नियालेको उल्लेख गर्दै पन्तले सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए।
पन्तको उम्मेदवारीलाई संयुक्त अरब इमिरेट्स, साउदी अरिबिया, मलेसियालगायत मुलुकका गैरआवासीय नेपालीले समर्थन गरेका छन्। सन् १९७६ मा गोरखाको फुजेलमा जन्मेका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गबरेका छन्।
उनले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन्। उनी अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को उपाध्यक्ष हुन्। उपाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment