भाग पुर्याउन थपिएका मन्त्रालय बालेन सरकारले घटाउने
काठमाडौं । विगतका गठबन्धन सरकारले आफूलाई समर्थन गर्ने दललाई मन्त्रालयको भाग पुर्याउन भएका मन्त्रालयलाई फुटाएर बढाइएका मन्त्रालयको संख्या बालेन सरकारले घटाउने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि मन्त्रालयको संख्या घटाउने भएको हो ।
निर्वाचन आयोगले समानुपातिक सूची मागिसकेको र राष्ट्रपतिले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने समय नजिकिइसक्दा बहुमत प्राप्त दल रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्री भएपछि गर्ने कामको गृहकार्य सुरु गरेको हो।
रास्वपाले चुनावी वाचापत्रमै मन्त्रालयको संख्या घटाउने र दलैपिच्छे खोलिएका कर्मचारी संघसंगठन खारेजीका लागि अध्ययन गर्ने भनिसकेको थियो । आफ्नै एकल बहुमतमा सरकार बन्ने भएपछि पार्टीले वाचापत्र कार्यान्वयन गर्न लागेको हो । रास्वपाले मन्त्रालयको संख्या १८ मा झार्ने तयारी गरेको स्रोत बताउँछ ।
हाल मन्त्रालयको संख्या २२ छ। संविधानअनुसार प्रधानमन्त्रीले आफूसहित २५ जनासम्मको मन्त्रिपरिषद बनाउन पाउँछन् । २०४८ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रालयको संख्या २१ थियो। पछि गठबन्धन सरकारमा भागबन्डा पुर्याउन र आफ्ना मान्छेलाई मन्त्री बनाउन मन्त्रालय फुटाउन थालियो। २०७२ मा केपी शर्मा ओलीले ३१ मन्त्रालय बनाएका थिए ।







डिसी नेपाल







Facebook Comment