आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने
काठमाडौं। पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आइतबारदेखि भने पश्चिम नेपालसम्म वर्षा विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र पूर्वकेन्द्रित भएको वर्षा भोलिदेखि प्रणालीको विकास भई पश्चिममा समेत विस्तार हुनेछ।
विभागका मौसमविद् रोजन लामिछानेले अबको तीन दिन मुलुकभर मौसम बदली रहेको जानकारी दिए। उनका अनुसार बिहान खुलेजस्तो भए पनि विस्तारै दिउँसोदेखि मौसम बदली बढ्दै वर्षा हुनेछ। भोलिदेखि भने पश्चिममा अर्काे प्रणाली पनि विकास हुने उनले जानकारी दिए।
उच्च चापीय प्रणाली कमजोर हुने र न्यून चापीय प्रणालीका साथै पश्चिमी न्यून चापीय प्रणालीसमेत जोडिएर बदली गराउने मौसमविद् लामिछानेले जानकारी दिए। यसले हावाहुरी, चट्याङ र असिना पानी गराउने मौसमविद्ले बताएका छन्। कतैकतै भारी वर्षा पनि गराउने छ।
आज कतैकतै वर्षा भएको छ। विभागमा भएको तथ्याङ्क तथा वर्षा मापनको विवरणअनुसार पछिल्लो २४ घण्टामा सङ्खुवासभामा मात्रै भारी (५२ दशमलव दुई मिलिमिटर) वर्षा भएको छ। अन्य केही जिल्लामा मध्यमसम्म वर्षा र कतैकतै असिना पनि परेको विभागले जनाएको छ।
विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने, हिमाली भू-भागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिए।
आइतबार लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment