निरीह गगन!

डिसी नेपाल
२ चैत २०८२ १०:२९
632
Shares

काठमाडौं। अब ढुक्कसँग पाँच वर्ष मलाई सत्ता चलाउन दिनु भनेर घण्टौँ भाषण गर्दै एमाले र रास्वपालाई गाली गरेर नथाकेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी सभापति भएको दुई महिना नपुग्दै थाकेका छन्। सभापति आफ्नो वशको कुरा रहेनछ भन्ने मानसिकता बोकेर उनी अहिले थलिएका र थकित देखिन्छन्।

अहिलेको चुनावमा सबैभन्दा बढी हानि कसैलाई भयो भने त्यो नेपाली कांग्रेसलाई हो। कांग्रेस यसअघि संसदको पहिलो दल थियो। २७५ सिटमध्ये कांग्रेसले ८८ सिटसहित संसदमा पहिलो दलको रूपमा आफूलाई उभ्याएको थियो।

दोस्रोमा एमाले थियो ७८ सिटसहित । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) यसअघि माओवादी केन्द्र तेस्रो थियो ३२ सिटसहित। अहिले नेकपा एस र माओवादीसँगै अरु दल मिलेर नेकपा बनेको थियो।

यसपालिको चुनावमा नेपाली राजनीतिक तीन ठूला दलमा सुनामी आयो। मतको लहर रास्वपाको भागमा गयो। कांग्रेस मुस्किलले प्रमुख प्रतिपक्षी दल बनेको छ। प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० गरी ३८ सिट जितेको छ । यदि एमाले र नेकपाबीच पार्टी एकता भयो भने गगनको रूख ढल्नेछ।

गगन आफैँले पराजय बेहोरे । खासमा उनको बोली, संसदमा राखेको अडानले उनी संसदमा पुग्नै पर्ने नेता हुन् भनेर प्रतिपक्षीले भने पनि गगन आफैँ गुल्टे। आफू बदलिएको र देश बदल्नुपर्छ भन्नेले आफूलाई बदलेर अब पहिलो दलबाट दोस्रोमा पुगे।

चुनाव हारेपछि ०६३ सालदेखि संसदमा जाने बानी परेकाको बानी बिग्रिने भएको छ। सोचिएको थियो कि गगनले जित्नेछन् । त्यसविपरीत गगनले चुनाव हारे। पार्टीको प्रमुखले चुनाव हारेपछि आउने विचलन स्वभाविक हो।

‘हामी बदलिनुपर्छ र देश बदल्नु पर्छ’ भन्ने मान्यतामा सदा प्रतिबद्ध गगनले शेरबहादुर देउवाको शक्ति-साखमा आरजू एण्ड कम्पनीले वर्षौदेखि थिलोथिलो बनाएको कांग्रेसप्रति गहिरिएको जन-विरक्तिलाई यति छोटो समयमा सफाचट् बनाउन सम्भव थिएन। गगनले त्यो गरेर देखाए। देउवाको कुर्सी हल्लाए।

तर गगनले चुनाव भने हारे । उनी गतिला थिए होला तर पार्टीका कारण उनी त्यही अग्निकुण्डमा परे । एकथरिले उनलाई पार्टीको विद्रोही भने पनि अर्कोथरिले भने उनी पनि एक कांग्रेसी भएको र केही पनि काम गर्न नसकेको व्यक्तिको रूपमा चिन्छन्। कांग्रेसले उल्लेख्य काम गरेन भने त्यही पार्टीका उनी एक्लो नेताले के काम गर्छन् र?

उनलाई हराउने रास्वपामात्र होइन कांग्रेसको उनी इतरको पक्ष हो । शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, आरजू देउवा, शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह, प्रकाशशरण महत सहितका नेताहरूले गगनको शेखी झार्नका लागि खुवै मेहनत गरे। सफलता पनि हासिल गरे । तिनै नालायक नेताहरुले गगनलाई हराए। चुनावमा उठेका आफूहरूले पनि हारे ।

ल गगनले हारे रे। अब के त ? के गगनले राजीनामा दिने ? उनी आफैँले राजीनामा दिने भन्ने प्रचार मिडियाबाट गराएर ‘मिडिया ट्रायल गरेको आरोप छ। यदि उनी पराजित मानसिकताका हुन् भने उनले राजीनामा दिएकै वेश। होइन भने उनले कांग्रेसलाई जीवन्त बनाउन आजैका मितिदेखि नयाँ अध्यायसाथ काम गरुन्।

मिडिया ट्रायल गर्ने देखासिकी हो र सहानुभूति बटुल्ने कला हो भने अब त्यस्तो स्टन्ट गगनलाई जरुरी नहोला । अब त उनले पार्टीको नियमित महाधिवेशन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचनमा पार्टीलाई स्थानीय तहको जग हाल्ने समय हो ।

अहिले गगनलाई राजीनामा दिनुपर्छ भनेर दबाब दिनेहरू देउवा पक्षका हुन् । उनी इतरका नेता र कार्यकर्ता हुन्। जसले उनको राजीनामा मागेका छन्। उनीहरू कांग्रेसी नै होइनन् भन्दा फरक पर्दैन। फेरि गगन किन डराउने ? अर्कातर्फ गगनले राजीनामा दिएर बसे भने कांग्रेसमा फेरि देउवाको त्यो अहंकारी र व्यक्ति केन्द्रित राजनीति हावी हुनेछ।

गगनले राजीनामा दिँदा उनको पछि लागेर परिवर्तन खोज्ने सबै नेताहरूको करियर धमिलिन्छ। उनीहरूलाई साम, दाम, दण्ड, भेद लगाएरै भए पनि घर न घाटको बनाउन देउवा पक्षीय राक्षसी प्रवृत्ति हावी हुन्छ। अब गगनले न निरीह हुनुपर्नेछ न घुर्की लगाउनु पर्नेछ । उनले त काम गरेर देखाउनु पर्नेछ।

साँच्चै पराजित मानसिकता लिएर बसिरहेको हो भने उनले नेतृत्व छोड्दा नै उपयुक्त हुन्छ । घाइते बाघ भए त्यसले आफूलाई झन् सशक्त बनाउँदै जान्छ । यदि त्यो बाघ थकित छ भने त्यसले गरिखाँदैन । गगनले आफूले निर्णय गर्ने बेला हो । यदि थकितै हुन् भने कमजोर सेनापतिलाई युद्धमा होम्नु भनेको पराजित हुनु हो । कांग्रेसले त्यसो नगरोस्।

जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.