हावाहुरीको वितण्डा: रौतहटमा पकेट क्षेत्रकै मकै बाली सखाप, किसान मर्कामा
रौतहट। सोमबार बेलुका आएको विनाशकारी हावाहुरीले रौतहटका विभिन्न स्थानमा लगाइएको मकै बालीमा व्यापक क्षति पुर्याएको छ। घोगा लाग्ने बेलाको मकै बोटै ढलेर सोत्तर भएपछि यहाँका किसानहरू निकै चिन्तित बनेका छन्।
विशेष गरी जिल्लाको मकै पकेट क्षेत्र मानिने चन्द्रपुर, गुजरा र बृदावन नगरपालिकामा हुरीले बढी क्षति गरेको छ। सोमबार बेलुका करिब १० मिनेटसम्म चलेको तीव्र गतिको हावाहुरीले खेतमा हरियाली छाएको मकै बालीलाई क्षणभरमै काम नलाग्ने गरी ढालेको हो।
चन्द्रपुर नगरपालिका वडा नं. २ का पीडित किसान सुब्बा कार्कीले यस वर्ष मकैबाट राम्रो आम्दानी हुने आशा राखेका थिए। तर हुरीले सपना चकनाचुर पारेको उनी बताउँछन्। ‘महँगो मल, सिँचाई र कामदारमा ठुलो खर्च गरेर बाली हुर्काइयो, तर १० मिनेटको हुरीले सबै मिहिनेत खेर फालिदियो,’ कार्कीले दुखेसो पोखे।
उनका अनुसार हावाहुरी निकै तीव्र भए पनि वर्षा नहुँदा मकैका बोटहरू भाँचिने र उखेलिने क्रम बढी भएको हो । मकैबाहेक आँप र लिचीमा लागेका बतिला (मजुर) समेत हुरीले झारिदिएपछि फलफूल खेती गर्ने किसानलाई पनि उत्तिकै मार परेको छ। चन्द्पुर नगरपालिका वडा नं. ३ र ४ का किसानले लगाएको केरा खेतीमा पनि हावाहुरीले उतिकै क्षति गरेको छ।
हुरीको प्रभाव कृषिमा मात्र सीमित रहेन। जिल्लाका विभिन्न स्थानमा कच्ची घरका छानो, खपडा, टाली र जस्तापाताहरू समेत उडाएको स्थानीयले बताएका छन्। यसले सर्वसाधारणको जनजीवन समेत प्रभावित बनाएको छ।
कृषि ज्ञान केन्द्र रौतहटका अनुसार हावाहुरीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहका कृषि शाखालाई दिइएको छ। ‘हावाहुरीले मकै बालीमा पुर्याएको क्षतिको विवरण पालिकाहरूले संकलन गर्नेछन् र सोही आधारमा राहत तथा क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढ्नेछ,’ केन्द्रले जनाएको छ।
मकै खेतीलाई मुख्य आयस्रोत मान्ने रौतहटका किसानहरू अहिले बारीमा ढलेका बोट हेरेर बिलौना गरिरहेका छन्। लागत समेत नउठ्ने अवस्था आएपछि उनीहरूले सरकारसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।







डिसी नेपाल







Facebook Comment