सवारी साधनमा फेरि जोर-बिजोरको चर्चा !

डिसी नेपाल
९ चैत २०८२ ७:१५
1.4k
Shares

काठमाडौं। पश्चिम एसियामा चुलिँदै गएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अभूतपूर्व रूपमा उकालो लागिरहेको छ, जसको प्रत्यक्ष असर नेपालजस्तो आयातमा निर्भर मुलुकमा देखिन थालेको छ। मूल्यवृद्धिको दबाबसँगै नेपाल आयल निगमले दैनिक रूपमा ठूलो आर्थिक घाटा व्यहोर्नु परिरहेको जनाएको छ।

यही चुनौतीलाई ध्यानमा राख्दै निगमले पेट्रोलियम पदार्थको खपत घटाउने विभिन्न विकल्पहरूबारे सरोकारवाला निकायहरूसँग गहन छलफल अघि बढाएको छ। यसै सन्दर्भमा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषय पुनः चर्चामा आएको छ।

यस्तो प्रणाली लागू गर्दा इन्धन खपतमा उल्लेखनीय कमी ल्याउन सकिने, ट्राफिक व्यवस्थापनमा सहजता आउने र विदेशी मुद्रा बाहिरिने दर केही हदसम्म नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ। यद्यपि, यसले सर्वसाधारणको दैनिक जीवन, व्यवसाय तथा सार्वजनिक यातायातमा पार्नसक्ने प्रभावबारे पनि गम्भीर बहस आवश्यक देखिन्छ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको छ। जसकारण नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी भएको छ। नेपाल आयल निगमले मूल्यवृद्धिका कारण दैनिक ठूलो घाटा बेहोर्नुपरेको भन्दै खपत कम गर्ने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको छ।

यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादवले पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको बताए।

यादवले सोही छलफलमा जोरबिजोर प्रणाली लागू गर्नेबारे पनि विचारविमर्श भएको तर ठोस निर्णय भने भई नसकेको स्पष्ट पारे। ‘जोर–बिजोर प्रणाली लागू गर्नेबारे छलफल भएको हो, तर, ठोस निर्णय भएको छैन’, उनले भने।

यद्यपि, नेपाल आयल निगमले हालसम्म नेपालको आपूर्ति प्रणालीमा पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नपरेको र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको जनाकारी दिएको छ। निगमका अधिकारीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले भविष्यमा आइपर्ने चुनौती सामना गर्न खपत घटाउने तयारीमा जुटेको बताउँछन्।

हिमालय टाइम्स दैनिकबा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *