एनआरएनए आइसिसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२६-२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा रमेश श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन्।
लामो समयदेखि युएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन्।
उनी जि सिडी ग्रुपका अध्यक्ष हुन्। साधारण सदस्यबाट सुरु भएको उनको संगठनात्मक यात्रा एनसीसी युएईको अध्यक्ष हुँदै मध्यपूर्व डिआरसी हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ, जसले उनलाई व्यवहारिक र जिम्मेवार नेतृत्वको रूपमा स्थापित गरेको छ।
निर्वाचनपछि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हक हितलाई पहिलो प्राथमिकतामा राख्ने स्पष्ट पारे। उनले हाल मध्यपूर्व द्वन्दबाट समस्यामा परेका कामदारको तत्काल उद्धार, राहत तथा सहयोगका लागि आपत्कालीन राहत कोष स्थापना गर्ने घोषणा गरेका छन्। उक्त कोषमार्फत दुर्घटना, बिरामी, कानुनी जटिलता वा अन्य सङ्कटमा परेका नेपालीलाई छिटो र प्रभावकारी सहायता उपलब्ध गराइनेछ।
त्यसैगरी, मध्यपूर्व क्षेत्रमा देखिएको संस्थागत विभाजन अन्त्य गर्दै हाल रहेका दुई वटा एनसीसी संरचनालाई एकीकृत गरी सुदृढ र प्रभावकारी संगठन निर्माण गर्ने उनको प्रमुख योजना रहेको छ।
एनआरएनएको १२औँ एकता महाधिवेशनमार्फत निर्विरोध चयन भएका श्रेष्ठको नेतृत्वलाई मध्यपूर्वमा श्रमिक केन्द्रित नीति, सङ्गठनात्मक एकता र प्रभावकारी कार्यान्वयनको नयाँ अध्यायको रूपमा हेरिएको छ। श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा नसकिएको कार्य यो कार्यकालमा गर्ने बताए।







डिसी नेपाल







Facebook Comment