काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा
काठमाडौं। पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौंलगायत केही जिल्लामा वर्षा भएको छ।
काठमाडौंमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ।
विभिन्न जिल्लाको वर्षामापन केन्द्रबाट प्राप्त विवरणअनुसार पछिल्लो एक घण्टामा सबैभन्दा बढी झापामा नौ दशमलव चार मिलिमिटर वर्षा भएको छ। यस्तै, ताप्लेजुङ, भोजपुर, नुवाकोट, लमजुङ, गोरखा, कास्की र कालीकोटमा हल्का वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा तनहुँमा २४ दशमलव छ र झापामा १२ दशमलव दुई मिलिमिटर वर्षा भएको छ।
मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा÷हिमपात भइरहेको विभागले आज साँझ ६ः०० बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।
विभागका अनुसार बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ। यस्तै, तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ।







डिसी नेपाल







Facebook Comment