राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको १०१ दिने कार्यकाल पूरा
काठमाडौं। जेनजी आन्दोलनपछि चुनाव गराउने कार्यादेशसहित गठित अन्तरिम सरकारमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका प्रकाश कुमार श्रेष्ठले १०१ दिनको कार्यकाल पूरा गरी पदबाट विदा भएका छन् ।
श्रेष्ठले आफ्नो कार्यकालमा सम्पादन भएका मुख्य कार्यहरू, र आगामी दिनका लागि आवश्यक सुधारका विषयहरू समेटिएको प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले आफूलाई महत्त्वपूर्ण जिम्मेवारी र कार्य अनुभवको अवसर दिएकोमा अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल र मन्त्रिपरिषद्लाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
छोटो समय, निर्वाचन आचारसंहिता र कर्मचारीहरूको निर्वाचनमा संलग्नता जस्ता सीमितताका बाबजुद आयोगले केही रणनीतिक महत्त्वका कामहरू सम्पन्न गरेको उनले उल्लेख गरेका छन् । आफ्नो १०१ दिने कार्यकालमा श्रेष्ठले १६ औं योजनाको कार्यान्वयन कार्ययोजनालाई अन्तिम रूप दिइ मन्त्रिपरिषद्बाट स्वीकृत गराएको, भदौ २३ र २४ गतेको आन्दोलनबाट भएको क्षति पुननिर्माण तथा पुनव्र्यवस्थापनको कार्ययोजना तयार गरी स्वीकृत गराएको र आर्थिक वर्ष २०८३-८४ को बजेटका लागि स्रोत अनुमान तथा बजेट तर्जुमाको मार्गदर्शन अर्थ मन्त्रालयमा पेश गरेको बताएका छन् ।
यसैगरी, नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नतिका लागि ‘स्मूथ ट्रान्जिसन स्ट्राटेजी’को कार्यान्वयन मूल्याकंन प्रतिवेदन स्वीकृत भएको र प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति गठन भएको विषयलाई उनले उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् । साथै, आयोजना बैंक प्रणालीमार्फत एक अर्बभन्दा बढी लागतका १४ वटासहित ठूलो संख्यामा आयोजनाहरू स्वीकृत गरिएको र विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा सामाजिक सुरक्षा तथा एकीकृत स्याहार नीतिको मस्यौदा तयार गरिएको उनले जानकारी दिएका छन् ।
सीमित समयावधि र निर्वाचन आचारसंहिताका कारण कतिपय महत्त्वपूर्ण कामहरू अधुरै रहेको श्रेष्ठले स्वीकार गरेका छन् । विशेषगरी प्रधानमन्त्रीको व्यस्तताका कारण राष्ट्रिय समस्या समाधान समिति र एलडिसी स्तरोन्नति सम्बन्धी उच्चस्तरीय समितिको बैठक बस्न नसकेको तथा केही ठूला आयोजनाहरूको बहुवर्षीय स्रोत सहमतिको सिफारिस गर्न नसकिएको उनले बताएका छन् ।
आगामी दिनमा आयोगले आगामी आर्थिक वर्षका लागि समपुरक र विशेष अनुदानका आयोजना छनोट गर्ने, मध्यमकालीन खर्च संरचना तयार गर्ने र १६ औं योजनाको कार्यान्वयनमा प्रभावकारी ताकेता गर्नुपर्ने सुझाव उनको छ । योजना आयोगको प्रभावकारिता वृद्धि गर्न श्रेष्ठले संस्थागत सुदृढीकरण र सक्षम जनशक्तिसहितको आयोजना बैंक प्रणालीको आवश्यकतामा जोड दिएका छन् । पुँजीगत खर्च बढाउन सशक्त अनुगमन र मूल्याकंन गर्ने क्षमता विकास गर्नुपर्ने, प्रमाणमा आधारित नीति निर्माणका लागि अनुसन्धानमा जोड दिनुपर्ने र तहगत समन्वय गरी प्रदेश तथा स्थानीय तहको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउनुपर्ने उनको सुझाव छ ।
आयोगलाई केवल योजना बनाउने निकायमा मात्र सीमित नगरी विकास आयोजनाहरूको प्राविधिक र आर्थिक विश्लेषण गर्न सक्ने बहुविषयक जनशक्तिसहितको सल्लाहकार निकायको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री र नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।







डिसी नेपाल







Facebook Comment