‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय सेमिनार सम्पन्न

डिसी नेपाल
१६ चैत २०८२ २१:०८
36
Shares

काठमाडौं। रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमअन्तर्गत आज ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक एक दिवसीय उच्चस्तरीय सेमिनार सम्पन्न भएको छ।

सेमिनारमा राष्ट्रिय सुरक्षा र विकासका लागि आधुनिकता र मौलिकताबीचको सन्तुलन गर्ने सम्बन्धमा दुई चरणमा विषय विज्ञहरूबाट प्रस्तुतीकरण तथा छलफल गरिएको थियो।

त्यस क्रममा पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले नेपालको ऐतिहासिक गौरव र दिव्योपदेशको धरातलमा आधुनिक राज्य व्यवस्थाः राष्ट्रिय मूल्य मान्यता, चुनौती र दीर्घकालीन मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमा प्राडा राजाराम सुवेदी र सहप्राध्यापक डा डोलराज काफ्ले टिप्पणी गरे।

यस्तै, दोस्रो सत्रमा सहप्राध्यापक डा धीरेन्द्र नाल्बोले बदलिँदो विश्व व्यवस्था र नेपालजस्ता साना राष्ट्रको अस्तित्व रक्षाका लागि रणनीतिक मौलिकता विषयक कार्यपत्र प्रस्तुत गरे। यसमाथि प्राडा मृगेन्द्रबहादुर कार्की र उपप्राध्यापक गौरव भट्टराईले टिप्पणी गरेका थिए।

कार्यक्रमका सहभागीहरूले छलफलपश्चात् पारदर्शिता, विधिवत शासन, उत्तरदायित्वजस्ता आधुनिक मान्यताहरूलाई आत्मसात् गर्नेलगायत विविध विषयमा सुझाव दिनुभएका थिए।

बलाधिकृत रथी प्रदीप जङ्ग केसीले शुभारम्भ गर्नुभएको कार्यक्रमको रक्षा सचिव केदारनाथ शर्माले समापन गरेका थिए। कार्यक्रममा विभिन्न मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिलगायत शिक्षार्थीहरूको उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *