परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न राष्ट्र बैंकको आग्रह

डिसी नेपाल
१७ चैत २०८२ १०:०२
336
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ।

राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई लक्षित गर्दै सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ।”

राष्ट्र बैंकले लामो समयसम्म परिपक्व रकम दाबी नगरी राख्नु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित बचतपत्रधनी वा उनीहरूका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ।

नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र नेपाल सरकारद्वारा जारी गरिने सरकारी ऋण उपकरण हुन्, जसमार्फत सर्वसाधारण तथा विदेशमा कार्यरत नेपालीबाट आन्तरिक स्रोत परिचालन गरी विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *