‘पहाड’ बाट पञ्चमी घिमिरेको डेब्यु, फिल्ममा विदेशिएका नेपालीको कथा

आकांक्षा धामी
१७ चैत २०८२ १०:१८
20
Shares

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ। यसै फिल्ममार्फत उनकी छोरी पञ्चमी घिमिरेले अभिनय यात्रा सुरु गरेकी छन्।

नेपाल न्यूज बैंकसँग गरिएको विशेष संवादमा पञ्चमीले सानैदेखि फिल्म क्षेत्रप्रति आफ्नो आकर्षण रहेको बताइन्। उनका अनुसार बाल्यकालदेखि नै घरपरिवार फिल्म क्षेत्रमा संलग्न भएकाले सुटिङ सेट, क्यामेरा र फिल्म निर्माणको वातावरणले उनलाई निकै प्रभावित बनाएको थियो। यद्यपि, सुरुमा उनी अभिनयभन्दा फिल्म निर्माण (मेकिङ) तर्फ बढी केन्द्रित थिइन्।

‘एक्ज्याक्टली के गर्छु भन्ने थाहा थिएन, तर फिल्म लाइनमै केही गर्छु भन्ने चाहीं सानैदेखि थियो,’ उनले भनिन्।

उनले मुम्बईमा मास मिडिया अध्ययन गर्दै विज्ञापन क्षेत्रमा शिक्षा हासिल गरेकी थिइन् र पछि बाबालाई सहायक निर्देशकका रूपमा सहयोग गर्न थालेकी थिइन्।
उनले भनिन्, ‘मलाई एकदमै सानैदेखि नै इन्ट्रेस्ट हो यो फिल्डमा। अनि यहीसँग रिलेटेड केहि गर्छु भन्ने चाहीँ सानैदेखि थियो।’

उनले अभिनयमा प्रवेश गर्ने प्रेरणा भने ‘दर्पण छाया २’ को एक कार्यक्रमका क्रममा प्राप्त भएको बताइन्। उक्त कार्यक्रममा धेरैले उनलाई अभिनय गर्न सुझाव दिएपछि आफूभित्र पनि अभिनय गर्ने चाहना जागेको उनले स्मरण गरिन्।

‘मेरो लागि एकदम अनौठो भइरहेको छ। दर्पण छाया २ बनिरहेको थियो त्यति बेरसम्म पनि म आफ्नो एजुकेशन कम्प्लिट गरिरहेकी थिएँ। मास मिडिया पढें।

एडभरटाइजिङ पनि गरेको थिएँ। दर्पण छाया २ को म्यूजिक लन्चमा धेरैले ‘एक्टिङ गर्नुस्’ भन्नुभयो, त्यहीँबाट मेरो दिमागमा पनि किरा पस्यो,’ उनले हाँस्दै सम्झिइन्।

फिल्म ‘पहाड’ मा पञ्चमीले ‘तारा’ नामक पात्र निर्वाह गरेकी छन्, जुन कथाको महत्वपूर्ण कडीका रूपमा रहेको छ। उनका अनुसार यो पात्रले कथाका विभिन्न मुख्य पात्रहरूबीच पुलको काम गर्छ। उनले आफूले पहिलोपटकमै बलियो (स्ट्रङ) चरित्र निर्वाह गर्न पाएकोमा खुशी व्यक्त गरिन्।

उक्त भूमिकाबारे उनी भन्छिन्, ‘तारा भन्ने क्यारेक्टर एकदमै स्ट्रङ छ र कथामा ब्रिजजस्तो भूमिका खेल्छ। मेरो पहिलो फिल्ममै यस्तो बलियो क्यारेक्टर पाउनु मेरो लागि धेरै ठूलो कुरा हो।’

‘पहाड’ मा ‘तारा’ भन्ने क्यारेक्टर एकदमै स्ट्रङ छ। र, कथामा ब्रिजजस्तो भूमिका खेलेको छ। पहिलो फिल्ममै यस्तो बलियो क्यारेक्टर पाउनु मेरो लागि धेरै ठूलो कुरा हो। फिल्म हेरेपछि घर छाडेकाहरुलाई फर्किन प्रेरणा मिल्छ।

फिल्ममा बिपिन कार्की, अरुण क्षेत्री, मदन कृष्ण श्रेष्ठ र सुनिल थापा जस्ता कलाकारसँग काम गर्ने अवसरलाई उनले विशेष उपलब्धि मानिन्। ‘यति ठूला कलाकारहरूसँग काम गर्नु नै मेरो लागि सौभाग्य हो,’ उनले भनिन्।

छायांकनका क्रममा धेरै रमाइला क्षणहरू अनुभव गरे पनि फिल्मको मुहूर्तपछि निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आउँदा सम्पूर्ण टोलीले देखाएको साथ र सहयोग आफ्नो लागि अत्यन्त भावुक क्षण बनेको उनले साझा गरिन्। यसबाट फिल्म क्षेत्रका मानिसहरूबीचको आपसी माया र सद्भाव प्रस्ट भएको उनको भनाइ थियो।

उनले भनिन्, ‘डे वानदेखि अहिलेसम्मको पूरा प्रोसेस मेरो लागि एकदमै खुशीको यात्रा भयो। तर मुहूर्तपछि बाबाको स्वास्थ्य बिग्रियो, त्यतिबेला टिमले देखाएको माया र साथ म कहिल्यै बिर्सन सक्दिनँ।’

फिल्म ‘पहाड’ ले विशेषगरी विदेशिएका नेपालीहरूको भावना, घरप्रतिको माया र फर्किने चाहनालाई उठान गरेको छ। पञ्चमीका अनुसार अवसरको खोजीमा विदेशिएका नेपालीहरूलाई दोष दिनु उचित नभए पनि उनीहरूले आफ्नो जरा (घर) नबिर्सनुपर्ने सन्देश फिल्मले दिन्छ। साथै, देशले पनि फर्किन योग्य वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतालाई फिल्मले प्रस्तुत गरेको छ।

उनले दार्जिलिङ, सिक्किम, कालिम्पोङ लगायत स्थानका नेपाली समुदायका कथासँगै विश्वभर छरिएका नेपालीहरूको साझा अनुभवलाई फिल्मले समेटेको बताइन्। यो केवल नेपालीहरूको मात्र नभई घरबाट टाढा बसेका सबै मानिसहरूले अनुभूत गर्न सक्ने पारिवारिक कथा भएको उनको भनाइ छ।

‘विदेश गएका नेपालीहरू मनले होइन, परिस्थितिले गएका हुन्,’ उनले भनिन्, ‘सबै अनुभव लिएर एकदिन घर फर्किनुपर्छ भन्ने नै फिल्मको मुख्य सन्देश हो। ‘पहाड’ केवल एउटा स्थानको कथा नभई विश्वभर छरिएका नेपालीहरूको साझा कथा हो। यो दार्जिलिङ, सिक्किम, नेपाल मात्र होइन, जहाँ जहाँ नेपाली छन्, सबैको कथा हो।’

विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै उनले घरबाट टाढा बस्नुपर्ने पीडा, पर्व-उत्सवको सम्झना र परिवारको मायालाई फिल्मले उजागर गर्ने विश्वास व्यक्त गरिन्। अवसर मिलेमा स्वदेश फर्किन र देशमै केही गर्ने प्रेरणा फिल्मले दिने उनले बताइन्।

पञ्चमीले नेपाली दर्शकहरूलाई नयाँ वर्षको अवसर पारेर परिवारसहित ‘पहाड’ हेर्न आग्रह गरिन्। उनका अनुसार फिल्मले मनोरञ्जनसँगै गहिरो सन्देश दिने भएकाले दर्शक निराश नहुने विश्वास लिइएको छ। ‘पहाड’ हेरेपछि तपाईंलाई घर फर्किन मन लाग्छ जस्तो लाग्छ,’ उनले विश्वास व्यक्त गर्दै भनिन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ। प्रमोद प्रधानले छायांकन गरेको फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *