आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठन

डिसी नेपाल
२० चैत २०८२ १५:५४
116
Shares

काठमाडौं। आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ। सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्‍मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो समिति बनाएको हो।

यस समितिलाई आगामी आर्थिक वर्षको नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ। यसका साथै, संघीय संसद्‍को दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने र बजेट वक्तव्यको अन्तिम मस्यौदा पेश गर्ने मुख्य कार्यभार पनि यसै समितिको कार्यक्षेत्रभित्र तोकिएको छ। समितिको संरचनामा अर्थ मन्त्रालयका विभिन्न महत्त्वपूर्ण महाशाखाका प्रमुखहरूलाई सदस्यका रूपमा समावेश गरिएको छ।

जसमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन्। यो समितिले मुलुकको वर्तमान आर्थिक परिवेश र विकासका लक्ष्यहरूलाई सम्बोधन गर्ने गरी आगामी बजेटको पूर्ण खाका तयार पार्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *