कर्णाली उत्सव सुरु, कर्णालीको विकासका विविध विषयमा बहस
सुर्खेत। कर्णालीको सम्भावना र अवसरहरुको विषयमा बहस र पैरवी गर्न कार्यक्रम ‘कुडा कर्नालीका’ कर्णाली उत्सव सुरु भएको छ। संगीतका सात धुनबाट कर्णाली उत्सव सुरु गरिएको हो। विगत सात वर्षदेखि निरन्तर कर्णालीको विविध विषयहरूमा बहस गरिने कार्यक्रमको यो सातौ संस्करण हो।
शनिबारदेखि सुरु भएको कर्णाली उत्सवमा कर्णालीको बिकासर समृद्धि, यहाँको साहित्य, कला, संगीत, समाजका विविध विषयमा बहस गरिने कार्यक्रमका संयोजक कमलराज लम्सालले बताए।
उद्घाटन सत्रमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा प्रवचन दिएकी थिइन्। उनले राणा शासनदेखि हालसम्मका हरेक आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको चर्चा गरेकी थिइन्। आन्दोलनका हरेक मोर्चा र मुलुककको नेतृत्वसम्म नारीले नेतृत्व गर्न सफल भएको उनको भनाई छ।
‘आन्दोलनका हरेक मोर्चा र मुलुकको शासन सञ्चालनमा महिलाहरुको सहभागिताले उनीहरु नेतृत्व गर्न सक्षम छन् भन्ने देखाएको छ,’ उनले भनिन्, ‘संविधानको व्यवस्थाअनुसार सहभागिता भए पनि अझ अर्थ पूर्ण बनाउनुछ।’
कार्यक्रममा बैंकिङ लगानीका विषयमा राष्ट्रिय वाणिज्य बैंकका प्रमूख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्णालीको आम्दानी, उत्पादन र रोजगारी सिर्जना गर्न सके मात्र कर्णालीको विकास सम्भव भएको बताए। ‘स्थानीय उत्पादनमा आधारित उद्यम बिकासका माध्यमबाट कर्णालीको बिकास गर्न सकिन्छ’ उनले भने, ‘स्थानीय उत्पादनमा आधारित उद्यम बिकासले मात्र कर्णालीको बिकास गर्न सकिन्छ।’ कर्णालीमा अर्गानिक कृषि उत्पादनको माग बढ्दो रहेकोले त्यसको उत्पादन बढाउन योजना बनाउनुपर्ने उनले बताए।
भौतिक पूर्वाधारको विकासले मात्र समृद्धि हाँसिल गर्न नसकिने भएकोले आम्दानी बढाउने योजना स्थानीय सरकारले बनाउनु पर्ने उनको भनाई छ। कर्णाली उत्सवको सातौ संस्करणसम्म सहकार्य गरेको भन्दै उनले बहस निश्कर्ष कुरा भन्दा पनि काम गर्नु पर्ने रहेको भन्दै कामका लागि पनि सहकार्य गर्न तयार रहेको उनले बताए।
कार्यक्रमको सुरुवातमा विद्धत प्रवचन दिँदै पत्रकार केशव दाहालले कर्णालीलाई पछाडि पारिएको भन्दै त्यसको क्षतिपूर्ती माग गर्नुपर्ने बताए। कर्णालीका थुप्रै सम्भावनाहरुलाई ओझलमा पारेर विकटता र अभावको रुपमा परिचित गराएको बताए। ‘कर्णालीलाई हेर्ने, सुन्ने र बुझ्नेहरुबीचको फरकले कर्णालीको पहिचान दुर्गममा बदलिदिएको छ’ उनले भने, ‘कर्णाली कसरी गरिब भयो ? काठमाडौंबाट कर्णाली दुर्गम देखिएको हो भने कर्णालीबाट काठमाडौं पनि दुर्गम छ नि ?’
‘सुइना कर्णालीका’ विषयमा छलफल हुनेछ भने विभिन्न क्षेत्रका वक्ताहरूले आफ्ना धारणहरू राखिरहेका छन्। ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा बहस आयोजना गरिनेछ। साँझ ४ बजे डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले पैकेलोमार्फत आफ्नो संघर्षको कथा सुनाउने छिन्। ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ विषयमा छलफल हुनेछ। यस सत्रमा विभिन्न विज्ञ तथा वक्ताहरूको सहभागिता रहनेछ। उत्सव सोमबारसम्म चल्ने छ।







डिसी नेपाल







Facebook Comment