एमालेमा नयाँ ध्रुवीकरण: ओलीलाई विस्थापित गर्न पौडेल र पोखरेलबीच ‘मोर्चाबन्दी’

डिसी नेपाल
१ वैशाख २०८३ १३:०९
2.0k
Shares

काठमाडौं| नेकपा (एमाले) भित्रको आन्तरिक राजनीतिमा अप्रत्याशित मोड आएको छ। लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीका मुख्य खम्बा मानिँदै आएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच ओलीलाई नेतृत्वबाट बिदा गर्ने विषयमा गोप्य समझदारी भएको चर्चाले पार्टीभित्र ठूलो हलचल पैदा गरेको छ।

पछिल्लो समय संसदीय दलको नेता चयन र पार्टीको कार्यशैलीलाई लिएर असन्तुष्ट बनेका दोस्रो पुस्ताका नेताहरूले नयाँ विकल्पको खोजी सुरु गरेसँगै यो समीकरण बनेको दाबी गरिएको छ।

स्रोतका अनुसार, अध्यक्ष ओलीले पछिल्लो समय पार्टीका महत्त्वपूर्ण निर्णयहरूमा सचिवालयलाई बाइपास गरेको र ‘जनजी’ विद्रोहपछिको बदलिँदो राजनीतिक परिस्थितिमा पनि पुरानै ढर्राले चल्न खोजेको आरोप लाग्दै आएको छ।

विशेष गरी, संसदीय दलको नेता चयनमा ओलीले देखाएको “अनुदार” शैली र रामबहादुर थापा ‘बादल’ जस्ता नेताहरूलाई दिएको प्राथमिकताले पौडेल र पोखरेललाई एक ठाउँमा उभिन बाध्य पारेको विश्लेषण गरिएको छ।

एघारौं महाधिवेशनबाट पुनः अध्यक्ष चुनिए पनि ओलीको बढ्दो उमेर र स्वास्थ्यका कारण पार्टीलाई नयाँ गति दिन नसक्ने निष्कर्षमा यो समूह पुगेको बताइन्छ।

महासचिव शंकर पोखरेल पार्टी संगठनमा बलियो पकड राख्छन् भने विष्णु पौडेलसँग सन्तुलित राजनीति र अन्तरपार्टी समन्वयको अनुभव छ। यी दुई मिल्दा पार्टीको बहुमत हिस्सा ओलीसँग अलग हुन सक्ने देखिएको छ।

यो अभियानमा गोकर्ण विष्ट, योगेश भट्टराई र रघुजी पन्त जस्ता प्रभावशाली नेताहरूले पनि साथ दिएको बुझिएको छ। उनीहरूले एमाले बचाउन नेतृत्व परिवर्तन अनिवार्य भएको तर्क अघि सारेका छन्।

अध्यक्ष ओली निकटका नेताहरूले भने यसलाई “सुनियोजित हल्ला” मात्र भएको बताएका छन्। ओली पक्षीय एक नेताका अनुसार, “अध्यक्षले सधैँ दोस्रो पुस्तालाई अघि बढाउन खोज्नुभएको छ। विष्णु र शंकरजी अध्यक्षकै विश्वासपात्र हुनुहुन्छ, उहाँहरूबीच फाटो ल्याएर पार्टी फुटाउन खोज्नेहरूको यो एउटा षड्यन्त्र मात्र हो।”

यदि पौडेल र पोखरेलबीच साँच्चै समझदारी भएको हो भने आगामी केन्द्रीय कमिटी बैठक ओलीका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ। संसदीय दलमा बहुमत जुटाएर नेतृत्व परिवर्तन गर्ने वा विशेष महाधिवेशनको माग गर्ने विकल्पमा यो समूहले गृहकार्य गरिरहेको चर्चा छ।

राजनीतिक विश्लेषकहरू भन्छन्, “बालेन शाह र रास्वपा जस्ता नयाँ शक्तिहरूको उदय भइरहेका बेला एमालेभित्रको यो शक्ति संघर्षले पार्टीलाई कि त पुनर्जीवन दिनेछ, कि त अर्को ठुलो विभाजनको संघारमा पुर्‍याउनेछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *