अमेरिका-इरान शान्ति वार्ताको पहल: पाकिस्तान सक्रिय

डिसी नेपाल
३ वैशाख २०८३ ७:२४
80
Shares

इस्लामावाद। अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ।

यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल असिम मुनिर इरानको राजधानी तेहरान पुगेका छन्।

प्रधानमन्त्री सरिफ बुधबार साउदी अरबको जेद्दाह पुगेका हुन्। उनले त्यहाँ साउदी युवराज मोहम्मद बिन सलमानसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ।

मध्यपूर्वी क्षेत्रमा शान्ति कायम गर्न साउदी अरबको भूमिका महत्त्वपूर्ण हुने भएकाले, अमेरिका र इरानबीचको दोस्रो चरणको वार्ताका लागि क्षेत्रीय समर्थन जुटाउन यो भ्रमण केन्द्रित रहेको बताइएको छ। साउदी अरबपछि प्रधानमन्त्री सरिफ कतार र टर्कीको समेत भ्रमणमा जाने तालिका रहेको छ।

यसैबीच, पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर एक उच्चस्तरीय टोलीसहित बुधबारै इरान पुगेका छन्। तेहरानमा उहाँलाई इरानी विदेशमन्त्री अब्बास अराघ्चीले स्वागत गरेका थिए।

प्राप्त जानकारी अनुसार, मुनिरले वासिङ्टन (अमेरिका) बाट आएको एक विशेष सन्देश इरानी नेतृत्वलाई हस्तान्तरण गर्ने र आगामी वार्ताको खाका तयार पार्ने अपेक्षा गरिएको छ।

गत हप्ता इस्लामावादमा अमेरिका र इरानबीच दशकौंपछिको उच्चस्तरीय वार्ता भएको थियो। यद्यपि उक्त वार्तामा पूर्ण सहमति जुट्न सकेन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता पुनः वार्ता हुनसक्ने संकेत गरेका छन्। आगामी अप्रिल २२ मा सकिन लागेको दुई हप्ते अस्थायी युद्धविरामलाई लम्ब्याउनु अहिलेको मुख्य चुनौती रहेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको यो द्वन्द्वमा अहिलेसम्म ३ हजार ३ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ। हर्मुज जलसन्धिमा भएको अवरोधका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा संकट उत्पन्न भएपछि पाकिस्तानले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन लगातार प्रयास गरिरहेको छ।

संयुक्त राष्ट्र संघको परमाणु एजेन्सीका प्रमुख राफेल ग्रोसीले पनि अमेरिका-इरान सम्झौतामा इरानको परमाणु गतिविधि प्रमाणीकरणका कडा उपायहरू समावेश हुनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *