कांग्रेस विवाद : बिहीबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा

डिसी नेपाल
३ वैशाख २०८३ १८:४४
220
Shares

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा पराखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारबाट सुरु भएको सुनवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। मुद्दाको सुनुवाइ शुक्रबार पनि जारी रहने छ।

आज रिट निवेदक शेरबहादुर देउवाको तर्फबाट कानुन व्यवसायी र सरकारी वकिलको तर्फबाट बहस भएको छ भने शुक्रबार सभापति थापा समेतको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने गरी समय विभाजन इजलासले गरेको छ।

यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासले यही रिटमा विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापालगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो।

गत पुसको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। त्यसविरुद्ध उवा र खड्काले ४ माघमा रिट दायर गरेका थिए।

प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरुरी देखिएको बताएका थिए।

देउवा र खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *