‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

डिसी नेपाल
६ वैशाख २०८३ १६:३५
8
Shares

इलाम। पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ।

फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा सहयोग पुर्‍याएको छ। समयमै परेको पानीका कारण चियाका बोटहरूमा नयाँ मुना राम्रोसँग पलाएका छन्, जसले गुणस्तरीय चिया उत्पादनको सम्भावना बढाएको छ।

फस्ट फ्लस सिजनमा उत्पादन हुने चिया गुणस्तरका हिसाबले सबैभन्दा उत्कृष्ट मानिन्छ। कोमल पात र विशिष्ट सुगन्धका कारण यस प्रकारको चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मागमा रहने गर्दछ।

उत्पादनको मात्रा कम भए पनि यसको मूल्य अन्य सिजनको तुलनामा बढी हुने भएकाले किसान र उद्योगीहरूका लागि यो समय विशेष महत्वपूर्ण मानिन्छ।

चिया टिपाई सुरु भएसँगै जिल्लाका केही चिया कारखानाले हरियो पत्ती प्रशोधन गर्न थालेका छन्। इलाम अर्थोडक्स चिया उत्पादनका लागि देशकै अग्रणी जिल्ला मानिन्छ। यहाँ वार्षिक रूपमा करिब ६० लाख किलो तयारी चिया उत्पादन हुने तथ्यांक रहेको छ।

जिल्लामा हाल ठूला र साना गरि १०० बढि चिया कारखाना सञ्चालनमा छन्। साथै, करिब १२ हजार किसान चिया खेतीमा संलग्न छन्, जसले उत्पादन गरेको हरियो पत्ती कारखानामा बिक्री गर्दै आएको केन्द्रिय चिया सहकारी संघका महासचिव रबिन राईले जानकारी दिए।

इलाममा विभिन्न प्रकारका चिया उत्पादन हुने गरेका छन्, जसमा गोल्डन, गोल्डन फ्लस, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिन लगायतका चिया प्रमुख छन्।
चियाले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाएका छन्। विशेष गरी फस्ट फ्लस चियाले विदेशी बजारमा उच्च मूल्य पाउने भएकाले यसको निर्यात सम्भावना उच्च रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *