२०औं लोकतन्त्र दिवस: संघीय लोकतान्त्रिक गणतन्त्रको जगका रूपमा आज देशभर मनाइँदै

डिसी नेपाल
११ वैशाख २०८३ ६:३२

काठमाडौं। नेपालमा आज २०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। विसं २०६३ सालको जनआन्दोलनले ल्याएको ऐतिहासिक परिवर्तनको स्मरण गर्दै हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए। सोही दिन जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्रले लोकतन्त्रको मूल्य र मान्यता विपरीत शासन सत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१ माघ १९ गतेको कदमपछि मुलुकमा उत्पन्न राजनीतिक संकटलाई समाधान गर्न आन्दोलनरत सात दल र तत्कालीन नेकपा (माओवादी) का बीच १२ बुँदे समझदारी भएको थियो। २०६२ साल मंसिरको सो समझदारीले तीन ध्रुवमा विभाजित शक्तिहरूलाई दुई ध्रुवमा ल्याएपछि आन्दोलनले थप बल प्राप्त गर्‍याे।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन वैशाखसम्म आइपुग्दा चुलिएको थियो। चक्रपथमा ओइरिएको जनसागरका कारण राजा ज्ञानेन्द्र आन्दोलनरत दलहरूको मस्यौदामा सहमत भई संसद् पुनर्स्थापनाको घोषणा गर्न बाध्य भएका थिए।

यो दिनलाई गणतन्त्रको जगका रूपमा लिइन्छ। संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ गतेको संसद् बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभाको निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरिएको उक्त ऐतिहासिक दिनलाई ‘नेपाली म्याग्नाकार्टा’का रूपमा समेत लिने गरिन्छ।

यही आन्दोलनको जगमा उभिएर मुलुकले थुप्रै ऐतिहासिक फड्को मारेको छ। विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो। २०६५ जेठ १५ गते बसेको पहिलो संविधानसभाको बैठकले २४० वर्ष पुरानो राजसंस्थाको विधिवत् अन्त्य गर्‍याे।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। अहिले सोही संविधानबमोजिम तीनै तहका निर्वाचन सम्पन्न भई संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरिरहेका छन्। लोकतान्त्रिक व्यवस्थाको प्रवेशद्वारका रूपमा वैशाख ११ गतेलाई नेपाली राजनीतिक इतिहासमा विशेष अर्थका साथ लिइने गरिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *