लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन आवश्यक

डिसी नेपाल
११ वैशाख २०८३ १०:०९

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै सबैको साझा दायित्व रहेको बताएका हुन्।

उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू केवल इतिहासका पानामा सीमित हुन नहुने भन्दै ती उपलब्धिलाई जनताको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने बनाउनु सबैको साझा दायित्व भएको बताएका छन्।

थापाले वर्तमान समयमा अपेक्षा र उपलब्धिबीचको दूरी अझै कायम रहेको उल्लेख गर्दै त्यसको समाधान लोकतन्त्रको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै भएको बताए।

उनले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको प्रमुख आवश्यकता भएको पनि जोड दिएका छन्।

‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ। तर यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो। संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको आवश्यकता हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *