पत्र ईश्वरलाई
प्रिय प्रकृति र प्रकृतिका उपहार दुर्लभ वन्यजन्तु
तिमीबाट निसर्त निःशुल्क प्राप्त प्राणरक्षा वातावरण सेवाका लागि ऋणी छु।
खुशीको खबर सुनाउन लामो अन्तरालपछि तिमीलाई यो पत्र लेख्दै छु।
यो वर्षको वन्यजन्तु सप्ताह विशेष र अविस्मरणीय रह्यो। खोटाङ्गमा रेडपाण्डा-थार अन्तराष्ट्रिय फेस्टिबल भयो। कर्म क्षेत्रमा शारीरिक उपस्थित हुन नसके पनि कविता मार्फत त्यो पवित्र सम्मेलनलाई सम्मान र शुभकामना पठाएँ।
`नेपाली सेनाले निकुञ्ज-आरक्ष र सर्वत्र डढेलो लाग्न नदिनु, लागेमा शीघ्र पुगेर सबैसँग समन्वय गरेर आगो नियन्त्रण गर्नु भन्ने सर्कुलर पठाएर गरेको “शून्य डढेलो वर्ष” को परिकल्पनाले प्रकृति पुनर्भरण पुनर्प्राप्ती हुने सुशासन आशले पुलकित भएँ।
तिम्रो प्रधान कार्यालय राष्ट्रिय निकुञ्ज विभागले आफ्नै टाइगर हलमा आयोजना गरेको ३१ औं वन्यजन्तु सप्ताहको समापन समारोह नितान्त प्रकृति केन्द्रित थियो। प्रकृतिलाई हतार हुँदैन भने झै तिम्रा विज्ञहरु, प्रोफेसर डाक्टर प्रशासक प्राविधिक ब्यवस्थापक संरक्षणकर्मीहरुले पृथ्वी बेर्न पुग्ने आ-आफ्नो १० अर्ब बढी न्युरो खर्च गरेर समुन्द्र मन्थन गरिरहेका थिए।
म विज्ञ होइन। तिम्रो आज्ञाकारी संरक्षणकर्मी र जिज्ञासु विद्यार्थी भएर आँखा झिमिक्क नगरि तिमी केन्द्रित नीति सम्वादलाई सुनिरहेको थिएँ। मेरो लागि अत्यन्त शिक्षाप्रद र आशाप्रद थियो त्यो सम्वाद।
‘ सुरक्षित मानिस, संरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग समृद्धिको सेतु ’ नाराले उत्साह र आत्मसन्तुष्टि दियो। किनभने यति अर्थपूर्ण, ओजिलो र आकर्षक नारा मैले गएका ३१ वर्षमा देखेको सुनेको थिइन।
दोश्रो खुशी, तिम्रो प्रधान कार्यालयले स्वतन्त्र, स्वाभिमान, साहसिक भएर तिम्रो कार्यक्रम तिम्रै तालुक विभागको टाइगर हलमा आयोजना गरेको थियो। विभागले गरिमामय कार्यक्रम कसैलाई अपहरण गरेर होटल र एनजिओमा लैजान दिएन।
त्यसो भएको भए मन्त्री नआउने निश्चित रहेछ। किनभने उहाँले भन्नुभयो-‘होटलका भेन्युमा मलाई नबोलाउनु होला।’ त्यो प्रकृति संरक्षणका कार्यक्रमहरु तारे होटलमा नराख्ने भद्र निर्देशन थियो।
प्रकृति र गैंडा बाघ तथा ती सँग एकाकार भएर बाँच्ने भुइँ मान्छेहरुको नाममा आएको दाम र दान भुइँ याने कि जरासम्म पुगोस भन्ने सुशासनको अभिप्राय मननयोग्य र तारिफयोग्य थियो।
उर्जावान आत्मविश्वासी नयाँ युवा मन्त्रीको सुन्ने धेरै, छोटो तर दमदार भाषणले सुशासनको विश्वास दिलाइरहेको थियो। प्रधानमन्त्री, जो प्रकृति र बाघका सर्वोच्च संरक्षक हुन्, को सुशासन संकल्प र आत्मगौरव सुनेर प्रकृतिका दिन फिरे भन्ने विश्वास जागृत भयो।
मन्त्रीको प्रधानमन्त्री प्रति कत्रो आस्था भरोसा र सम्मान। जब कि हिजो कुशासनमा प्रधानमन्त्री-मन्त्री-सचिवको बोलचाल बन्द, अट्टेरी र पानी बाराबारको स्थिति देखेर हामीलाई दिक्क लाग्थ्यो।
तर अहिले प्रधानमन्त्रीको प्रत्यक्ष सुशासनलाई सफल पार्न टिमवर्कको अर्जुनदृष्टि। मन्त्रीहरु अति अनुशासित, शिष्ट, नम्र, भद्र तर कानुन पालना र काममा सचेत एवं कठोर। प्रकृतिका दिन अब नफिरे प्रकृतिको भविष्य समाप्तिको बाटोमा भनेर बुझ्नु अन्यथा नहोला।
सुशासनलाई फाईदा, ३६ वर्षमा सबैभन्दा कम बिग्रेको प्रकृति संरक्षणको क्षेत्र हो। एउटा कारण अन्तराष्ट्रिय सन्धि सम्झौताको हस्ताक्षर राष्ट्रको हैसियतले विश्व सम्पदा तथा निकुञ्ज-आरक्ष बेचिखान नपाउनु। दोस्रो कारण नेपाली सेना सहित 3 खम्बे संरक्षण मोडल र अराजनीतिक संगठन सेनासँग हच्किनु।
तेश्रो कारण संरक्षण साझेदार प्रतिबद्ध संघ-संस्था र सर्वोच्च अदालत तथा वातावरण संरक्षण कानुनविद् अधिकारकर्मी सहितको प्रकृति पुजारी तथा संरक्षणप्रेमी स्थानीय समुदाय।
यो बृहत संयुक्त टिम र टिमवर्कको बुलेटप्रुफ संरक्षण नभएको भए आज प्रजातन्त्र र गणतन्त्रले निकुञ्ज-आरक्ष र संरक्षण क्षेत्रलाई प्लटिङ्ग गरिसकेको हुने थियो। चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीबाट झिक्न गणतन्त्रले गरेको ट्रयाक टू दुष्प्रयास एउटा ज्वलन्त उदाहरण हो। पशुपतिनाथ र पशुआशिषले जोगाएको मातृभुमि।
स्वच्छ शुद्ध मनले प्रकृति र प्रकृतिसँग एकात्म भई बाँचेका मूलनिवासी तथा आदिबासीको रक्षा कल्याण सम्मानको लागि साहसिक निर्णय लिदै काम गर्न न संविधान बाधा छ, न ऐन कानुन चाहिन्छ।साहसी काम फटाफट गरेर देखाए पूर्व वनमन्त्री स्व. दीपक बोहोराले।
आध्यात्मिक चेत र शुद्ध मनले नमूना नेतृत्व दिए अर्का मन्त्री महेश आचार्यले। बाँकीलाई बिचौलिया व्यापारले मस्त दुनियामा ईङ्गेज गरे। प्रकृति दोहन र विनाशको लोभी पापी लालची दमनकारी बनाए।
वनमन्त्री बाघको सिकार गरेर धनागमन गर्दा समृद्धिमा पुगिन्छ भनेर कुर्लिए। उहि पदचाप पछ्याउदै बाघ र वनजंगलको काम छैन भनेर पाँच तारे होटलमा सामेल दातृ निकाय र कुटनीतिज्ञहरुको हुर्मत लिए प्रधानमन्त्रीले। तुरुन्त पशुश्राप लागिहाल्यो।
सामुदायिक वन जस्तै विश्व तरङ्गित बनाउने उत्कृष्ट मोडल थियो मद्यवर्ती क्षेत्र (बफर जोन) अवधारणा। बफर भनेको प्रवेश निषेध (नो गो) कोर एरिया र समुदाय बीचको निर्जन वन क्षेत्र।
जहाँ जनधनको क्षति बेहोरेर गाउँलेहरु वन्यजन्तु संरक्षणमा हातेमालो गरिरहेका छन्। ती सिमान्तकृत पीडित समुदायलाई दिने ३० देखि ५० प्रतिशत रकम भुक्तानी नदिएर खिसी उडाउने प्रजातन्त्र र गणतन्त्र। सामान्य ब्यवस्थापनमा असफल निर्लज्ज सरकार। पशुधन कृषिवालीको बिमा गर्न नसक्ने दृष्टिविहिन सरकार। क्षतिपूर्तिमा ढिलासुस्ती गर्ने, जनतालाई दुःख दिने र , विपन्न पीडितको घुस खाने सरकार।
सुशासनलाई अवसर नै अवसर !
संरक्षण क्षेत्र बाहिरको पानीले नहुने। मुहान नै समाउनु पर्ने । आज गौरीशंकर र अन्नपूर्ण इश्वरीय नामाङ्कित् पवित्र हिमालका छातीहरुमा जलमाफियाहरुले जल-जंगल- जमिन तहसनहस पारेको दृश्य पीडादायी छ।प्रकृति शोषणको पराकाष्ठा। गणतन्त्रको लुट्तन्त्र !
राजनीतिक इशारा र आडमा संरक्षण क्षेत्रको अतिक्रमण शोषण दोहन कति कति ? चुरेलाई हेरे पुग्छ। लाङ्टाङ्, अन्नपूर्ण लगायतका संरक्षण क्षेत्रका सयौं अवैध होटेल ब्यवसाय र पूर्वाधार हेरे कहाली लाग्छ। न स्वीकृति न करको दायरा र करचुक्ता। गुण्डाराज।
सुशासनलाई अवसरको चाङ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई जस्ताको तस्तै राखेर २०७९ गरेको भए सुशासनले के गर्नु ?
मद्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ लाई 2082 बनाइदिएको भए सुशासन माईनस हुने।
सुशासनले धन्यवाद दिनुपर्छ ती अन्धो लालची सरकारहरुलाई। जसले सुधारका क्षेत्रहरू छाडेर भागे।
प्रकृति र प्रकृतिलाई खुशीको कुरा, कुशासनले १४ पटक संशोधन गरेर आत्मा मारिसकेको ३४ वर्ष पुरानो ऐन शीघ्र २०८३ भएर आउने छ। अब कुनै ऐन कानुन विधेयक अड्किने हराउने गुञ्जायस छैन।
५ प्रतिशत बाघ समस्याग्रस्त हुनु सामान्य र स्वभाविक हो, अब भव्य प्राकृतिक वासस्थानमा रमाउने छन् करिब २० वटा बाघहरु। अध्ययन अनुसन्धान पर्यटन जीविकोपार्जन रोजगारीको अवसरको साथै प्रजनन् केन्द्र हुने छ त्यस्तो बाघ पार्क।
हण्टिङ रिजर्भहरुको जोडदार माग उठ्यो नीति सम्वादमा। मेरो पुरानो जोडदार माग। तर कडा अनुशासन र विधिको शासनको परिधिमा रहेर। रिसर्चमा आधारित बैज्ञानिक हण्टिङ। आहा ! पैसा छाप्ने नयाँ मेसिन। तर सेनालाई दिनुपर्छ यसको संरक्षण अनुगमन नियमन नियन्त्रण जिम्मेवारी।
मानव-वन्यजन्तु द्वन्द्व छैन यो देशमा। मानव-मानव द्वन्द्व मात्र सँधै उत्कर्षमा छ। नहोस् त्यो यो सुशासनमा। मानव-वन्यजन्तु असमझदारी असामञ्जस्यता सामान्य र स्वभाविक हो। असमझदारी फण्डको व्यवस्थाले ठूलो उद्धार राहत मिल्ने छ। शीघ्र स्थापना होस मानव-वन्यजन्तु असमझदारी कोष।
जंगल जमीन उत्खनन् र अवैध क्रसर उद्योग बन्द गरेर वैध उत्खनन् हुनासाथ प्रकृति विनाश रोकिने छ।
टाइगर टप्स जस्ता हाइएण्ड (गुणस्तिरीय) पर्यटक ल्याउने तारे होटल हुन् मध्यवर्ती क्षेत्रमा र हरेक निकुञ्ज आरक्षभित्र कम्तिमा २ वटा टेण्टेड् क्याम्प हुन ।
विश्य सम्पदामा मल्टिपल प्रवेशद्वार हुन् र डिजिटल बुकिङको व्यवस्था होस्।
डिजेल गाडीको सफारीलाई विद्युत सवारीले विस्थापित गर्नासाथ प्रदूषण नियन्त्रण हुन्छ। अलवेदर सडक बनाउन अब ढिलो नगरौं।
सडक, घाँसे मैदान, कुवा, मचान बनाउन खरिद ऐन र आर्थिक नियम बहानाबाजी अब हट्ने छ। र, त्यहाँ पहलता, स्वविवेक, स्वनिर्णय, नैतिक साहसको मूल फुट्ने छ।
निकुञ्ज आरण र संरक्षण क्षेत्रलाई उत्कृष्ट व्यवस्थापन र संरक्षण गर्नासाथ प्रवेश शुल्क बढाउने सुझाव मननयोग्य थियो।
बफरजोन अब विकास क्षेत्र, समृद्ध क्षेत्र हुनुपर्छ र चीफ वार्डेनले आफ्नो ध्यान केन्द्रित कोर एरियामा गर्नुपर्छ भन्ने सुझावलाई ठूलो ताली आयो।
कोर इलाकामा प्रवेश निषेध जोन बनाएर वन्यजन्तुलाई प्राइभेसी र शान्ती दिने कानुनविद्हरुको माग जायज थियो।
किन तनावग्रस्त छन् मान्छे र वन्यजन्तुहरु ? नया अध्ययन अनुसन्धानको सख्त जरुरी छ। वन्यजन्तु र मान्छे दुबैको सुरक्षा प्रत्याभूत होस्। हिजो शून्य फायरिङबाट शून्य सिकार हासिल गरेको सुन्दर नजिर बाट पाठ सिक्न जरुरी छ। वन्यजन्तुबाट सुरक्षित दुरीमा रहेर दुबैको सुरक्षा सुनिश्चित गर्ने तालिमको जरुरी देखिन्छ।
आज रामसारलाई संरक्षण क्षेत्र भन्न लाज लाग्ने अवस्था छ। विशेष संरक्षणको जरुरी छ।
मेलम्ची जस्तै बदनामी र ढिलासुस्ती नहोस, राष्ट्रिय प्राणी उद्यान स्थापनाको काम। शीघ्र यो प्रोजेक्ट राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिनुपर्छ भन्ने जोडदार सिफारिसमा दम थियो। बिलम्व गर्नु हुँदैन।
चुरे संरक्षणको सपना अव साकार हुने छ। चुरेले जलाशयको माला लाउने छ। मधेसको पानी रिचार्ज र मधेस रक्षाको निमित्त चुरे संरक्षण अपरिहार्य छ।
सगरमाथा सफा हुने छ। हिमाल सफाईको काम पूरा हुने छ।
अन्तर्राष्ट्रिय वातावरण फण्ड, क्षतिपूर्ति कोषको खोलो बग्ने छ। सुशासनलाई वित्तको
ओइरो लाग्ने छ।
प्लाष्टिकमुक्त नेपाल र जिरो वेष्ट जस्तो विश्व तरङ्गगित गर्ने चामत्कारिक वातावरण प्रोजेक्टहरुले नेपालको सान मान र छवि विश्वमा चम्किने छ।
जुनियर रेञ्जरको मेरो जोडदार माग पनि अब पूरा हुने छ।
अपिनाम्पा संरक्षण क्षेत्रलाई राष्ट्रिय निकुञ्जमा बढोत्तरी गर्ने अवसर आयो। अपिनाम्पा र कञ्चनजंगालाई त्रिदेशीय भौगोलिक व्यापारिक सांस्कृतिक सामाजिक विन्दू बनाउने हो भने समृद्धिको नया ढोका खुल्नेछ।
रामारोसन र बडीमालिका संरक्षण क्षेत्रमा दर्ज भएर विश्व सम्पदा हुने प्रचुर सम्भावना छ।
नेपालको उत्तर र दक्षिणमा प्राकृतिक र सामरिक महत्वका निकुञ्ज आरक्षका संरक्षण क्षेत्र भएपनि मध्य नेपालमा संरक्षण क्षेत्र पहिचान भएर पनि स्थापना हुन सकेका छैनन्। अर्को सुवर्ण अवसर।
विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्ज माथिको चरम राजनीतिकरण शिथिल भईसकेको छ। राजनीतिक चोट र घाउमा खाटा बसेको छ। नेपालको पहिलो त्यो निकुञ्ज स्तरोन्नति गर्न जरुरी छ। कसरा – माडी फ्लाईओभर बनाएर माडीलाई विश्वकै सुन्दर प्रकृति काखको विशिष्ट गाउँ बनाउने सुन्दर अवसर छ।
राजधानी सहरभित्र अवस्थित नागार्जुन र गोकर्ण शिवपुरी राष्ट्रिय निकुन्जका दुई स्याटलाईट सहरी निकुञ्ज हुन्। चतुर राजनीतिले कब्जा गरेको गोकर्णलाई शिवपुरीमा गाभ्ने र गोकर्णको गल्फ तथा होटल व्यवसायलाई ग्लोबल प्रतिस्पर्धा गराई गुणस्तरिय विलासी होटल चलाउन दिने अर्को सुन्दर अवसर।
फेवाताल स्थित रत्न मन्दिरलाई बर्ड स्यान्चुरी घोषणा गरेर राजकीय भ्रमणमा आउने राष्ट्रप्रमुखहरुको लागि अति विशिष्ट अतिथिगृह बनाउने अवसर।
नीति सम्वादमा विज्ञ र विद्वानहरुको कडा अनुगमन नियमन र नियन्त्रणको घेराभित्र औषधी प्रयोजनको लागि गाँजा खेती गरेर समृद्धिको ढोका खोल्ने माग पनि दमदार र जायज थियो।
जलचर, जलीय परितन्त्र (अक्वाटिक इकोलोजी), जलचक्रको निरन्तरता, पन्छी संरक्षण, अन्तरसीमा वन्यजन्तु अनुगमन र संरक्षण, स्वास्थ सर्भे सुधारका सुन्दर पक्षहरु रोचक थिए।
काठको आन्तरिक माग स्वदेशी काठबाट किन पूरा नगर्ने ? अर्को अवसर।
प्रिय प्रकृति,
कृपया मलाई नसोध यति सुन्दर कामहरु विगतमा किन भएन ? छोटकरीमा नबोल्ने अवोध प्रकृतिको सुनुवाई भएन।
महात्मागान्धीले भनेझै प्रकृतिसँग अथाह सम्पदा र श्रोत साधन छ। नेपाललाई समृद्ध सम्पन्न स्वर्ग बनाउन प्रकृतिसँग अपार भण्डार छ।
माफ गर प्रकृति, पूर्व शासकहरुले न तिम्रो सर्वोच्चता स्वीकार गरे। न पूजा गरे। बरु अन्धाधुन्ध लुट् गरे। पशुश्राप पाए। भागे।
लुटमा पूर्णविराम लाउन र तिम्रो पुनर्भरण, पुनर्प्राप्ती, पुनर्स्थापना गर्न तिम्रो आशिषले आज युवा शासन आएको छ। त्यो निःसन्देह प्रकृतिप्रेमी संरक्षणप्रेमी र प्रकृतिप्रति जवाफदेही छ। उसले बिचौलियाको अतिक्रमण शोषण र दोहनबाट प्रकृतिलाई मुक्ति दिने छ। प्रकृति अव स्वतन्त्र र सार्वभौम हुने छ।
प्रिय प्रकृति,
सुशासनलाई बिलम्ब गर्ने र बाटो बिराउने छुट् छैन। स्वच्छ शुद्ध हावा र पिउने पानी, स्वस्थ खाद्यान्न आपूर्तिको दूर दृष्टिका योजनाहरु लागु भईसकेका छन्। छिट्टै परिणाम आउने छन्। तिमी हामी यो सुन्दर स्वर्गमा सहसम्बन्ध सहअस्तित्व कायम राखेर सप्रेम बाँच्ने छौं। सन्ततिलाई स्वच्छ पारिस्थितिकीय प्रणाली हस्तान्तरण गर्ने छौं।
प्रिय प्रकृति,
आत्मनिर्भर तिमिलाई मान्छे नभए पनि हुन्छ। तर हामी परनिर्भर छौं। तिमी बिना हामी र कुनै पनि प्राणीको अस्तित्व असम्भव छ। तसर्थ हामी तिम्रो सर्वोच्चता स्वीकार्छौं। दिगो सदुपयोग मात्र गर्छौं। र, सभक्ति तिम्रो पूजा गरिरहने छौं।
अन्त्यमा,
सभ्य र भब्यसँग भएको नीति सम्वादलाई शीघ्र कानुन र ऐनमा देख्न पाइयोस। निकुञ्ज महानिर्देशक र वन सचिवले आफ्नै कार्यकालमा यो पवित्र र धार्मिक काम पूरा गरेर सुशासनलाई सगरमाथा आरोहण गर्ने भर्याङ हालिदिनुहुने छ भन्ने कुरामा विश्वस्त छु।
जय वन्यजन्तु सप्ताह !
जय प्रकृति संरक्षण !!
प्रकृतिको अनन्य सेवक
बाबुकृष्ण कार्की (बाघ गोठालो)















Facebook Comment